Logo

२५ बैशाख, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको छ ।

शुक्रबार इमेलमार्फत उजुरी दिँदै गायक ढकालले आफूलाई लक्षित गरी भइरहेका अनर्गल ट्रोल र पोस्टहरूले व्यक्तिगत प्रतिष्ठामा गम्भीर आँच पुर्‍याएको उल्लेख गर्नुभएको छ । साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालका अनुसार उजुरीसँगै ढकालले आफूलाई अपमानित गर्ने गरी बनाइएका विभिन्न सामाजिक सञ्जालका लिंकहरू पनि प्रमाणका रूपमा पेस गर्नुभएको छ ।

विवादको जड केही दिनअघि ढकालले एक सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता बनेको छ, जहाँ उनले ‘जेनजी आन्दोलन’ का क्रममा आफ्नो भूमिकाबारे चर्चा गरेका थिए । विशेष गरी गत भदौ २४ गते नक्खू कारागारबाट रवि लामिछानेलाई बाहिर ल्याउने क्रममा आफूले नै गाडी चलाएको भनी उनले दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनीमाथि तीव्र आलोचना र ट्रोल सुरु भएको थियो । सोही विषयलाई लिएर अतिरञ्जित टिप्पणीहरू भएपछि उनले कानुनी उपचारको बाटो रोज्नुभएको हो ।

प्रहरीले ढकालको उजुरी दर्ता गरी प्राविधिक अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । सामाजिक सञ्जालमा कसैको व्यक्तिगत जीवन र प्रतिष्ठामा आघात पुग्ने गरी सामग्री सम्प्रेषण गर्नु विद्युतीय कारोबार ऐन विपरीत हुने भन्दै ब्युरोले यस्ता गतिविधिमा संलग्नहरूको पहिचान गरिने बताएको छ । आफ्नो स्पष्टीकरणलाई व्यङ्ग्यको विषय बनाएर सीमा नाघेको भन्दै गायक ढकालले दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ ।


सम्बन्धित समाचार