Logo

वीरगञ्ज महानगरपालिकाले गण्डकदेखि शंकराचार्य गेट सम्मको सडक विस्तारका लागि अनधिकृत रुपमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा हटाउन आज ३५ दिने सूचना जारी गरेको छ ।
वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने १ नम्बर मेनरोडको उत्तरतर्फ गण्डक चौक देखि पावर हाउस, घण्टाघर, माईस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ मन्दिर, विर्तामन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म रोडका दायाँबायाँ सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सम्बन्धित व्यक्तिलाई निर्देशन दिएको छ ।

साथै महानगरपालिकाद्वारा जारी सूचनामा सडकको दायाँ बायाँ निर्माण भएका घरहरूको वीरगञ्ज महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको सोको सबुत प्रमाण लिई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् आगामी असोज २५ गतेसम्म महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा आफूसँग भएको सबुत प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ ।

सूचनामा सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने समेत महानगरपालिकाले जनाएको छ ।

केही समयअघि वीरगञ्जको मुख्य नाला अतिक्रमित क्षेत्र खाली गर्ने अभियान सुरु गरिएको र अब मेनरोडको समेत अतिक्रमण हटाउने कार्यपछि महानगरका १, २ र ३ नम्बर रोड सँगै बाइपास, इनर बाइपास, रेल्वे रोड, लिंकरोडको अतिक्रमण समेत हटाइने महानगरपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार