Logo

 

३१ भदौ, काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।
हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा प्रिती राईको पासमा उनले निर्णायक गोल गरिन् ।
यसअघि प्रिति राईले ३३ औं मिनेटमा डी बक्स बाहिरबाट हानेको भली प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।
पहिलो हाफमा अग्रता लिएपछि दोश्रो हाफमा नेपालले सुरुवातदेखि नै भारतमाथि दबाब बनाउन थाल्यो । ५० मिनेटमा अनिता केसीको कर्नरमा अमृता जैशीले बक्स भित्रबाट हानेको हेडर भारतकी गोलकिपर अदिती चौहानले पञ्च गर्दै बाहिर फालिन् ।
६४ मिनेटमा प्रिति राईले बक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।
पाँच पटकको बिजेता भारतले पनि दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन ।
समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराउँदा नेपालको डिफेन्स र गोलकिपिङ खासै टेष्ट भएको थिएन । तर भारत विरुद्ध भने नेपालको डिफेण्डर र गोलकिपरले कडा मिहिनेत प¥यो । कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले राम्रो बचाउ गरिन् ।
दोस्रो हाफमा गोल नथेपनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।
अब नेपालले उपाधिका लागि बंगलादेशसँग सोमबार खेल्नेछ ।
नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
२०१६ मा कुमार थापा प्रशिक्षक रहेकै बेला नेपाल सेमिफाइनलमा पराजित भएको थियो । त्यसपछि पहिलो पटक महिला टोलीको प्रशिक्षक बन्ने अवसर पाएका थापाले भारतसँग मिठो बदला पनि लिएका छन् ।


सम्बन्धित समाचार