Logo

३ असोज, वीरगञ्ज ।
छैटौं महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।
घरेलु मैदानमा हजारौं दर्शकको साथ पाएको नेपालले पहिलोपटक विजेता बन्ने अवसर गुमायो । नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल खान पुग्यो ।
साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।
बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ । बंगलादेश महिला साफको नयाँ विजेता हो । यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो ।
२–० ले अग्रता लिइरहेको बंगलादेशको पोष्टमा नेपालले ७१औँ मिनेटमा गोल फर्काएको थियो । सावित्राको पासमा ७१ औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर, उनको प्रयास पर्याप्त भएन ।
केहीबेरपछि नै डिफेन्डरहरू अगाडि बढेको मौकामा बंगलादेशले अर्को गोल थप्दै खेललाई ३–१ को अवस्थामा पुर्यायो । यसपछि नेपाल खेलमा फर्कन सकेन ।
बंगलादेशको पहिलो गोल निकै आकर्षक थियो । साम सुन्नाहारले खेलको १४औँ मिनेटमा आकर्षक गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । सब्स्टिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेको केही मिनेटभित्रै उनले आफ्नो उपस्थिति प्रमाणित गरिन् ।
यसपछि नेपालले खेलमा बराबरी गर्ने निरन्तर प्रयास गरिरह्यो । तर, ४२औँ मिनेटमा श्रीमोती कृष्ण शंकरले दोस्रो गोल गरिन् । नेपाली डिफेन्डरहरूको कमजोरीको फाइदा उठाउँदै उनले बललाई जाली चुमाइन् ।


सम्बन्धित समाचार