Logo

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन आइतबारदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुँदैछ। महाधिवेशनमा २२ सय ९६ जना प्रतिनिधिले भाग लिँदैछन्। यी प्रतिनिधिले समग्र चीनभरिका ९ करोड ६० लाख पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्दछन्।

बेइजिङ समयअनुसार आइतबार बिहान १० बजे महाधिवेशन सुरू भएपछि कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रतिवेदनमाथि छलफल प्रारम्भ हुनेछ। मूलतः चिनियाँ अर्थतन्त्र, पार्टी विधान, नेतृत्व टोली चयन लगायतका विषय यस महाधिवेशनका आकर्षण हुन्।

महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्त्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने तथा कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय समिति र नयाँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने कार्यक्रम छ।

यसअघि अक्टोबर ९ देखि १२ तारिखसम्म १९औँ केन्द्रीय समितिको सातौं पूर्ण अधिवेशन सम्पन्न गरिएको थियो। सोही अधिवेशनले २० महाधिवेशनको मिति अक्टोबर १६ का लागि निर्धारित गरेको हो भने १९औँ महाधिवेशन यताको पाँच वर्षको कामको समीक्षा पनि गरेको थियो।

त्यस्तै गत अगस्ट ३१ मा बेइजिङमा एउटा गोष्ठी आयोजना गरी सीपीसीइतरका विभिन्न लोकतान्त्रिक पार्टी, चीन राष्ट्रिय उद्योग वाणिज्य संघ तथा निर्दलीय व्यक्तिहरूबाट २०औँ महाधिवेशनको प्रतिवेदन सम्बन्धमा मत सङ्कलन गरिएको पनि सीपीसीले जनाएको छ।

विश्वको नजर बेइजिङतिर

सीपीसीकेन्द्रित महाधिवेशन पार्टीको आन्तरिक मामिला भए पनि विश्वको नजर बेइजिङतिर सोझिएको छ। करिब एक साताजति चल्ने यस महाधिवेशनले चीनलाई आगामी पाँच वर्षसम्म दिशानिर्देश गर्ने र यीनै नीतिले बाह्य जगतमा पनि प्रभाव पार्ने भएकाले विश्वले ध्यान दिने गर्दछ। पार्टीको १८औँ महाधिवेशन सन् २०१२० बाट महासचिव बनेका सी चिनफिङ नेतृत्वको पार्टी र सरकारले विश्वमा गतिशीलता प्रस्तुत गरेकाले यो महाधिवेशनपछि के हुन्छ भन्ने जिज्ञासा उब्जिएको छ।

सीको नेतृत्वमा चीनको स्वाभिमान उँचो भएको र चीनको दबदबा विश्वमाझ अझै बढेको निष्कर्ष विश्लेषकहरूले गरेका छन्। यो महाधिवेशनले के कस्ता नेताहरूलाई अगाडि सार्छ र कस्तो खालको नीति तय गर्छ भन्ने कुराले विश्व जगतमा अर्थ राख्छ।

चिनियाँ सञ्चारमाध्यमहरूमा सी चिनफिङ नेतृत्वमा आएको एक दशकमा चीनले स्वागत गरेको परिवर्तनबारे चर्चा गरिएको छ। गरिबी निवारण, अर्थतन्त्र, अन्तर्राष्ट्रिय जगतमा चीनको प्रस्तुति, कोभिड(१९ महामारी नियन्त्रण, एक दशकमा चीनको कायापलटबारे अन्तर्राष्ट्रिय विश्लेषकहरूका दृष्टिकोणले पनि प्रमुख स्थान पाएका छन्।

२५ सय पत्रकार बेइजिङमा

बेइजिङमा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको रिपोर्टिङ गर्न विदेशबाट ९ सय सहित कुल २५ सय पत्रकारहरू बेइजिङमा भेला भएका छन्। महाधिवेशनको एक साताअघि प्रेस सेन्टर खुला गरिएपछि आयोजकले यसबारे जानकारी दिएका हुन्। कोभिड नियन्त्रणको नीतिका कारण पत्रकारहरूले प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न भने पाउने छैनन्। तर प्रेस केन्द्रले भिडियो अन्तर्वार्ताको व्यवस्था मिलाएको जनाएको छ।


सम्बन्धित समाचार