Logo

२ कात्तिक, वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी साजन कार्की माथि गोली प्रहार भएको हो । उनी कार्यालयमा काम गरिरहेको अवस्थामा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

सर्लाही लालबन्दी नगरपालिका वडा नंं. २ जुटपानी बस्ने बर्ष ३० वर्षीय कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सिमरा विमानस्थलबाट काठमाडौं पठाइएको छ ।

निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरुले गोली हानेर फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनलाई भारतीय अपराधीले गोली हानेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गोली हान्ने व्यक्तिको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार