Logo

३ कार्तिक, वीरगञ्ज ।
यही कात्तिक ८ गते मंगलबार गाई पुजाको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट शुरु भई साँझ ५ः२६ मा समाप्त हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देख्न सकिने छ । ग्रहणको समयमा नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् ।

खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिन्छ । शास्त्रीय मान्यता अनुसार यस पटकको ग्रहण मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ तथा मीन राशिले हेर्न नहुने र वृष, सिंह, धनु, तथा मकर राशि भएका मानिसहरुले मात्र हेर्न हुने बताएको पाइन्छ ।

यसपटक लक्ष्मीपुजाको दिन ग्रहण लाग्ने भएकोले यस बर्षको लक्ष्मी पुजा कार्तिक ७ गर्ने कुकुर पुजाको दिन गर्न धर्मशास्त्रीहरुले सुझाव दिएका छन । पञ्चाङ्ग निर्णायक समितिले समेत कार्तिक ७ गने लक्ष्मी पुजा गर्न साइत निकालेको छ ।

सूर्य ग्रहण भनेको के हो ?

सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ ।

सूर्य ग्रहण कसरी लाग्छ ?

सूर्य चन्द्रमाभन्दा करिब चार सय गुणा ठूलो छ । चन्द्रमाभन्दा सूर्य पृथ्वीबाट करिब चार सय गुणा टाढा छ । त्यसैले साधारण आँखाले हेर्दा चन्द्रमा र सूर्य दुवै उत्रै–उत्रै देखिन्छन् । चन्द्रग्रहण होस् वा सूर्यग्रहण दुवै समयमा चन्द्रमा, पृथ्वी र सूर्य एउटै सरल रेखामा हुन आवश्यक छ । जब पृथ्वीको छायाँमा चन्द्रमा पर्छ, तब हामीहरू चन्द्रग्रहण भयो भन्छौँ । त्यसैगरी चन्द्रमाको छायाँ जब पृथ्वीमा पर्छ, तब सूर्यग्रहण भएको भन्छाँै । चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक चन्द्रमालाई देख्न सक्छन् । सूर्यग्रहणमा पृथ्वीका केही मानिसले मात्र ग्रहणको अनुभव गर्छन् भने केही मानिसले ग्रहण लागेको देख्न नै पाउँदैनन् । साधारणतयाः हामीहरू सूर्यग्रहणको तुलनामा चन्द्रग्रहण धेरै भएको हुन्छ कि भन्ने ठान्छौँ तर वास्तवमा चन्द्रग्रहणको तुलनामा सूर्यग्रहण नै धेरै हुने गर्छ ।

चन्द्रग्रहण पूर्णिमाको रातमा मात्र लाग्छ भने सूर्यग्रहण औँशीको दिनमा मात्र हुने गर्छ । यसरी विचार गर्दा प्रत्येक पूर्णिमा र औँशीमा किन चन्द्रग्रहण र सूर्यग्रहण लाग्दैन भन्ने जिज्ञासा उत्पन्न हुन सक्छ । अझ विचार गर्ने हो भने एक महिनामा चन्द्रमाले पृथ्वीलाई एक फन्को मारेर परिक्रमा गरिरहेको हुन्छ । यो परिक्रमा गर्नेक्रममा प्रत्येक महिना एकपटक सूर्यग्रहण र एकपटक चन्द्रग्रहण हुनुपर्ने हो तर यस्तो हुँदैन । यस्ता प्रश्नको जवाफ पाउन सर्वप्रथम पृथ्वी हिँड्ने बाटो र चन्द्रमा हिँड्ने बाटोबीचको कोणीय अन्तर बुझ्नु जरुरी छ । पृथ्वीको अक्ष र चन्द्रमाको अक्षबीचको कोणीय अन्तर करिब पा“च डिग्रीको छ । यसैले गर्दा यी दुई चन्द्रमा र पृथ्वीले बनाउने छायाँ एउटै धरातलमा सधैँ पर्दैनन् । त्यसैले प्रत्येक पूर्णिमा र औँशीमा ग्रहण नदेखिएका हुन् । जुन औँशी वा पूर्णिमाका दिनमा एउटै धरातलमा छायाँ पर्छ, त्यसबेला मात्र ग्रहण हुन्छ ।

सूर्य ग्रहण कति प्रकारका हुन्छन ?

खण्डग्रास सूर्यग्रहण, सर्वग्रास सूर्यग्रहण, खग्रास सूर्यग्रहण र वलय सूर्यग्रहण गरी जम्मा चारप्रकारका सूर्यग्रहण पृथ्वीबाट देख्न सकिन्छ । सूर्यलाई केही मात्रामा छेकिएर हुने सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो । सर्वग्रास सूर्यग्रहणमा सूर्य पूरै ढाकिन्छ । सूर्यलाई छोपी आकाशलाई समेत छेकेर हुने ग्रहणलाई खग्रास सूर्यग्रहण भनिन्छ । यस्तो सूर्यग्रहण लागेको समयमा पूरै अँध्यारो भई दिउँसै ग्रह र ताराहरू देख्न सकिन्छ । यस्तोखालको सूर्यग्रहण लामो समयको अन्तरालमा मात्र देख्न र अनुभव गर्न पाइन्छ । त्यस्तै सूर्य विम्बको बीचको भागलाई छेकेर हुने सूर्यग्रहण नै वलय सूर्यग्रहण हो । यस्तो ग्र्रहण भएको बेलामा सूर्यमा ठूलो प्वाल परेकोजस्तो देखिन्छ र सूर्य एक बालाजस्तो देखिन्छ । यस्तो सूर्यग्रहण पनि विरलै हुने ग्रहणमा पर्छ ।

सूर्य ग्रहण हेर्दा के हुन्छ ?

चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । यदि मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रूपमा नै नष्ट हुन गई मानिस सदाका लागि दृष्टिविहीनसमेत हुन सक्छ । त्यसैले सूर्यग्रहणका बेला नाङ्गो आँखाले कदापि हेर्न हँुदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनुपर्छ । ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरी हेरेमा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छायाँ हेर्नु नै हो ।


सम्बन्धित समाचार