Logo

८ कार्तिक, पर्सा । शिक्षा ऐन विपरीत विद्यालयले शिक्षक नियुक्त गरेको भन्दै पर्साको पटेर्वा सुगौली गाउँपालिकाले २९ जना स्वयंसेवक शिक्षकको तलब समयमा दिन नसकिएको जनाएको छ ।

विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले चार महिनादेखि तलब नपाएको भन्दै पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरी र शिक्षा शाखाका प्रमुख शम्भु प्रसाद साहको ध्यानाकर्षण गराएका थिए ।

नगरपालिकाले स्थायी, करारका शिक्षकलाई दशैंअघि तलब दिए पनि निजी स्रोतका शिक्षकलाई भने तलब नदिएपछि शिक्षा शाखा प्रमुख र नगर प्रमुखलाई ध्यानाकर्षण गराएको स्वयंसेवक शिक्षक रामआशिष यादवले बताए ।

पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ का अध्यक्ष विजय गैरेले पालिकाबाट अनुदान दिएको रकमबाट खर्च गर्नेगरी अधिकांश बिद्यालयका प्रध्यानाध्यापक र व्यवस्थापन समितिले आफूखुसी शिक्षक नियुक्ति गरेकोले उनीहरुको तलब रोक्का गरिएको बताए । कुन प्रकृयाबाट स्वयंसेवक शिक्षक नियुक्ति गरेको हो लेखि पठाउन पालिकाबाट पत्राचार गरिएको तर बिद्यालयबाट कुनै जवाफ नआएकोले अनुदान रकम पठाउन नसकिएको वडा अध्यक्ष गैरेले बताए ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय पटेर्वा, रामपुरमा निजी स्रोतमा शिक्षण सेवा गर्दै आएका शिक्षक रामआशिष यादवले थोरै तलबमा काम गर्नुपर्ने र त्यो तलब पनि समयमा नदिँदा समस्या भएको बताए । उनी भन्छन् ‘हामीलाई जम्मा दश हजार दिएको छ । त्यो पनि समयमा दिँदैन । अरुले दशैं अघि पाइसके तर हामीलाई अहिले सम्म दिइएको छैन ।’

बिद्यालयले नियुक्त गरेका शिक्षकको नियुक्ति पत्रको प्रतिलिपि समेत बिद्यालयले दिन सकेकौ छैन, गैरेले भने “रितपूर्वक नियुक्त भएका शिक्षकको तलब उपलब्ध गराउने गरि सम्वन्धित बिद्यालयको नाउँमा अनुदान बापतको रकम पठाउन पालिका सकरात्मक छ ।”

पटेर्वासुगौली गाउँपालिकाका शिक्षा शाखाका प्रमुख शम्भु प्रसाद साहले केही प्राविधिक समस्याका कारण रोकिएको अनुदानको रकम छठ पर्व पछि बिद्यालयको खातमा जाने बताए । बिद्यालयले मासिक १० हजार दिने गरि सहयोगी शिक्षक नियुक्ति गरेको हो, साहले भने “प्रकृया मिलाएर अनुदान बापतको रकम बिद्यालयमा पठाईदिने कुरा भा छ ।”

गाउँपालिका प्रमुख दिनेशकुमार चौधरीले तलब दिन ढिला भएको स्वीकार गरे । ‘निजी स्रोतका शिक्षकहरु कसरी नियुक्त हुनुभएको छ भनेर हेरिरहेका छौं । आवश्यक प्रक्रिया पु¥याएर दिन्छौं । रोक्ने नियत होइन’, उनले भने ।

पटेर्वा सुगौली गाउँपालिकाका २४ वटा विद्यालयमा निजी स्रोतबाट तलब दिने शर्तमा २९ जना स्वयंसेवक शिक्षक कार्यरत रहेका छन् । निजी स्रोत शिक्षकहरुलाई मासिक तलब १० हजार रुपैयाँ दिँदै आएको तर हाल राजनीतिक विषय लिएर साउनदेखिको तलब नदिएको शिक्षकहरुको गुनासो छ ।


सम्बन्धित समाचार