Logo

तश्वीर नयाँ पत्रिका

१२ कात्तिक, काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका १० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् ।

स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका १० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ । बम सकेट बम भएको अनुमान गरिएको छ । त्यसबारे अनुसन्धानका लागि नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।


सम्बन्धित समाचार