Logo

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

यस विषयमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ पनि माग गरेको छ । कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
उनी लाभको पद नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै निर्वाचन आयोगले कार्तिक ११ गते उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । उनी पदमै कायम रहेको अवस्थामा उम्मेद्वारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो ।

चार वर्षे कार्यकालका लागि उनी मेडिकल काउन्सिलमा गत भदौमा निर्वाचित भएकी थिइन् । काउन्सिलमा नेपाल सरकारले अनुदान दिने, स्वास्थ्य मन्त्रालयले समेत विभिन्न कार्यक्रममा बजेट उपलब्ध गराउने भएकाले त्यहाँका पदाधिकारी सार्वजनिक पदमा रहेको हुने भनी निर्वाचन आयोगले दावी गरेको छ ।

उम्मेदवारमाथि दावी विरोध गर्ने समय भन्दा पछि कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उक्त उजुरीमाथि उम्मेदवार कार्कीको स्पष्टीकरणसमेत लिएर निर्वाचन आयोगमा पठाएको थियो ।


सम्बन्धित समाचार