Logo

२४ कार्तिक वीरगञ्ज । निर्वाचन आयोगले पर्सामा आचारसंहिता उल्लंघनका घटनामा निष्पक्षता प्रकट गर्न नसकेकोमा नागरिक समाजका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले वीरगन्जमा आयोजना गरेको अन्तकृयात्मक छलफलमा सहभागीहरुले आचार संहित अनुगमन समिति र आयोगको वीरगञ्ज स्थित कार्यालयमा परेका उजुरीका वारेमा आयोगको भूमिका प्रष्ट र प्रभावकारी हुन नसकेमा धारणा व्यक्त गरेका हुन ।

विगतका निर्वाचनहरु भन्दा यसपटको निर्वाचनमा पनि खासै फरकपन नदेखिएको बताउदै निर्वाचन गराउने निकाय निर्वाचन आयोगका पदाधिकारीहरुको अभिव्यक्ति र कार्यशैलीले पनि निर्वाचन स्वच्छ हुनेमा आशंका पैदा भएको उनीहरुको भनाई थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवं इन्सेका पूर्व अध्यक्ष सुशिल प्याकुरेलले निर्वाचन आयोगका आयुक्तहरुले दिने अभिव्यक्तिले पनि निर्वाचनको वातावरणमा नकारात्मक प्रभावहरु पार्न सक्नेतर्फ सचेत गराएका थिए ।

आयुक्तहरुले विगतका निर्वाचनमा एक ट्रक मतपत्र नै गायब भएको भन्ने अभिव्यक्ति सार्वजनिक कार्यक्रमहरुमा दिनु ठिक नभएको प्याकुरेलको भनाई थियो । उनले एउटा निर्वाचन सम्पन्न भएपछि फेरी अर्को निर्वाचनको समयमा मात्रै निर्वाचनको विषयमा बहस, छलफल हुने गरेको भन्दै, निर्वाचनको विषयमा निरन्तर छलफल र बहस आवश्यक रहेको बताए ।

बरिष्ठ अधिवक्ता रामेश्वर सेढाँईले निर्वाचन आयोगको कडाईले विगतका निर्वाचनको भन्दा यसपटकको निर्वाचनमा सहरी क्षेत्रमा प्रचार प्रसारका सामग्रीहरुमा केही कम भएपनि दलहरुले गरेका गठबन्धन र दलीय सिण्डिकेटले नागरिकले स्वच्छ जनप्रतिनिधि छान्न पाउने अवस्था भने नरहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र चौहानले निर्वाचन आयोग आफैं एकपछि अर्को विवादमा मुछिएको र संवैधानिक निकायहरुमाथि नै नैतिकताको प्रश्नचिन्ह खडा भएको बताए ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्पादन गर्नुपर्ने कामका विषयमा ध्यानाकर्षण गरेको कुरालाई आचार संहित उल्लंघन गरयो भनेर स्पष्टीकरण सोधिएको तर वीरगञ्जमा रहेका केही उमेदवारको डिजिटल व्यानर नहटाइएको र विद्यालयका शिक्षिकाले उमेदवारको प्रचार सामाग्री सहित प्रचार प्रसारमा संलग्न भएको विषयलाई सोधपुछ समेत नगरेकामा आयोगले खटाएका कर्मचारीको भूमिका शंकास्पद देखिएको धारणा चौहानको छ ।

सामुदायिक रेडियो प्रसारक संघका पूर्व महासचिव गोविन्द देवकोटाले उमेदवार र राजनीतिक पार्टीलाई हेरेर एउटै प्रकृतिका घटनामा फरक फरक निणर्य र व्यवहार आयोगबाट खटिएका कर्मचारीबाट हुनुले आयोगको निष्पक्षता माथि प्रश्न उठन थालेको बताए ।

नेपाल पत्रकार महासंघका केन्दीय सदस्य केसी लामिछानेले निर्वाचन आचार संहिता कार्यान्वयनमा पर्साका सन्दर्भमा आयोग कमजोर देखिएको बताए । उनले दलहरुले शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा डिजेबाजा सहितका प्रचार र्‍याली हुनेगरेको विषयमा आयोगले कुनै चासो नदेखाएको बताए ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का केन्द्रीय कार्यालयका कृष्ण गौतम, नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, पत्रकार महासंघ पर्सा उपाध्यक्ष सुष्मा शर्मा, सदस्य कविता खड्का लगायतले पर्सा जिल्लामा भईरहेको निर्वाचनका गतिविधिहरुको बारेमा आ-आफ्ना विचार राखेका थिए ।


सम्बन्धित समाचार