Logo

बहुदरमाइ नगरपालिकाका उपमेयर सुष्मा कुमारी कुशवाहा एमालेका उमेदवार राजकुमार गुप्ताको प्रचारमा

२८ कार्तिक, वीरगञ्ज । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका उमेदवारको पक्षमा प्रचार गर्न नपाउने आचार संहिताको विपरित पर्सामा जनप्रतिनिधि प्रचारमा लाग्दा समेत आयोग चुपचाप लागेर बसेको देखिन्छ ।

बहुदरमाई नगरपालिकाका उपप्रमुख सुष्मा कुमारी कुशवाहा नेकपा एमालेका पर्सा प्रतिनिधि सभा सदस्यका उमेदवार राजकुमार गुप्ताको निर्वाचन प्रचारमा लागेको भिडियो र तस्विर सार्वजनिक भएको तीन दिन भएको छ तर यसमा आयोगको ध्यान पुग्न सकेको छैन ।

पर्सामा निर्वाचन आचार संहिता अनुगमन समितिले निष्पक्ष रुपमा काम गर्न नसकेको गुनासो विभिन्न राजनीतिकदल र नागरिक समाजबाट आइरहेको अवस्थामा आयोगको निष्पक्षता माथि फेरी प्रश्न उठेको छ ।

बहुदरमाइ नगरपालिकाका उपप्रमुख सुष्मा कुमारी कुशवाहा आफ्नै पालिकाको वडा नं. ७ र ८ मा नेकपा एमालेका उमेदवार राजकुमार गुप्ताको चुनाव प्रचार तथा घरदैलो कार्यक्रममा सहभागी भएको तस्विर उमेदावार गुप्ताले आफ्नै फेसबुक पेजमा सार्वजनिक गरेका छन् ।

एमालेका उमेदवार राजकुमार गुप्ताले आफ्नै फेसबुकवालमा उपमेयर कुशवाहा चुनाव प्रचारमा हिडेको कुरा सार्वजनिक गरेका छन

निर्वाचन आयोगले जारी गरेको आचार संहितामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको पालिका भित्र कुनै उमेदवारको पक्षमा मत माग्न, घरदैलो गर्न वा प्रचारप्रसारमा गर्न नपाईने व्यवस्था छ ।

पर्साका अधिकांश पालिकाका जनप्रतिनिधिले स्थानीय तहको स्रोत साधन समेत दुरुपयोगगरी आफ्नो पार्टीका उमेदवारको पक्षमा खुलेर हिडेको देख्दा समेत आयोगले कुनै कार्वाही गरेको छैन । आयोगले आचार संहिता उल्लंघनका घटनालाई कसैले उजुरी गरेमा, सञ्चार माध्यममा समाचार प्रकाशन, प्रशारण भएमा वा सामाजिक सञ्जालमा प्रचार गरेको तस्विर वा भिडियोहरु फेला परेमा त्यसलाई आयोगले समेत नोटिसमा लिएर कार्वाही गर्न सक्ने व्यवस्था गरेको छ ।

पर्साका अधिकांश उमेदवारहरुले पालिकाका जनप्रतिनिधि चुनाव प्रचारमा हिडेको तस्विर सामाजिक सञ्जालमा राख्ने गरेको पाइन्छ । यसबारेमा आफूलाई कुनै जानकारी नभएको निर्वाचन जिल्ला अनुगमन समितिका संयोजक रुद्र बहादुर कार्कीले बताए । कतैबाट उजुरी परे छानविन गर्ने र स्पष्टीकरण लिनेकाम भएको छ तर मिडिया र सामाजिक सञ्जालमा आएका विषयलाई समितिले नोटीसमा नलिएको भनाई कार्कीको छ ।

म केही दिन देखि जिल्ला बाहिर छु मलाई कुनै उजुरी आएको छैन, कार्कीले भने “त्यस्तो कुनै उजुरी परेको भए मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा परेको होला उतै बुझ्दा हुन्छ ।”

छिपहरमाई गाउँपालिकाको वडा नं ३ का वडा अध्यक्ष दिपेन्द्र सिंहका वारेमा लिखित उजुरी परेकोले स्पष्टीकरण सोधिएकोमा उनले जवाफ दिएको वा नदिएको बारेमा समेत आफूलाई जानकारी नभएको कार्कीले बताए ।

यता पर्सा स्थित मुख्य निर्वाचन अधिकृत विनोद पोखरेले छिपहरमाई गाउँपालिकाको वडा अध्यक्ष वाहेक कुनै पालिकाका जनप्रतिनिधिका बारेमा उजुरी नपरेको बताए । कसैको बारेमा उजुरी परेको छैन यदी आफ्नो पालिका भित्र कुनै जनप्रतिनिधि प्रचारमा हिडेको प्रमाण सहित फेला परेमा स्पष्टीकरण सोधिने पोखरेलको भनाई थियो ।
स्वंयम उमेदवारले आफ्नै सामाजिक सञ्जालमा जनप्रतिनिधि प्रचारमा हिडेको तस्विर राख्दा समेत आयोगको ध्यानपुग्न नसक्नुले पर्सामा निर्वाचन आचार संहिता कार्यान्वयन हुन नसकेको प्रष्ट देखिन्छ ।

एमालेका उमेदवार राजकुमार गुप्ताले सार्वजनिक गरेको तस्विर बोल्छ, उपमेयर कुशवाहा प्रचारमा हिडेको


सम्बन्धित समाचार