Logo

२९ कार्तिक, वीरगन्ज । पर्सामा जसपाको तर्फबाट क्षेत्र नं. १ का प्रतिनिधिसभाका उमेदवार प्रदिप यादव र एमालेको तर्फबाट क्षेत्र नं. ३ का उमेदवार राजकुमार गुप्ता विचको अपवित्र साठगाँठबाट एकले अर्काको कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि एमाले–जसपा गठबन्धन झन धरापमा परेको छ ।

दुवै जना आ–आफ्नो पार्टीबाट आफूमात्र जित्ने र प्रदेशसभामा पार्टी र गठबन्धनबाट उठेका उमेदवारलाई हराउने नियत राखेरै यस्तो अपवित्र साठगाँठ गरेको आरोप दुवै तर्फका कार्यकर्ताले लगाएका छन् । यादव र गुप्ताकै कारण क्षेत्र नं. १ (क) बाट एमालेको तर्फबाट प्रदेशसभा सदस्यका उमेदवार विचारी यादव र (ख) बाट जसपाका उमेदवार मुख्यमन्त्री लालबाबु राउतको अवस्था नाजुक बन्दै गएको छ । प्रदीप यादवले विचारी र लालबाबुलाई हराउने उदेश्य राजकुमार गुप्तासँग भित्री साठगाँठ गरेको आरोप जसपा र एमालेका कार्यकर्ताले लगाउन थालेका छन् ।

एमालेका राजकुमार गुप्ता र जसपाका प्रदीप यादवको प्रवृत्ति र स्वभाव एउटै रहेकोले दुबै पार्टीका कार्यकर्ताले यसपटक पार्टी भित्रका कार्यकर्तालाई लडाएर स्वार्थ पुरागर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने समय आएकोले दुवै उमेदवारलाई ती पार्टी भित्रका इमान्दार कार्यकर्ताले सहयोग नगर्ने देखिन्छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीले गठबन्धन गरेका छन् । सत्ता गठबन्धनमा रहेका उपेन्द्र यादवको जनता समाजवादी पार्टी गठबन्धनमा सिट बाँडफाँडमा भाग नमिल्दा एकाएक उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिन असोज २२ गते विपक्षी दल नेकपा एमालेसँग गठबन्धन गर्न पुगे ।
सत्तागठबन्धनसँग ३२ सिटको बार्गेनिङ्ग गरेका यादवले एमालेसँग १७ सिटमा सहमति जनाए । त्यहि अनुसार एमाले जसपा गठबन्धन निर्वाचनमा होमिएको छ । तर, पर्सामा भने दुई नेताका कारणले एमाले जसपा गठबन्धन धरापमा परेको छ ।

मधेस आन्दोलन ताका सबैभन्दा प्रधान शत्रु मानिएको एमालेसँगै अहिले हात समाएर हिड्नु परेको जसपाका कार्यकर्ताहरु पनि असन्तुष्ट र प्रधान शत्रु ठानेका दलका नेताहरुलाई लिएर हिड्नुपर्ने बाध्यताले मनोबल घटेको एमाले कार्यकर्ताहरुमा क्षेत्र नम्बर १ का एमाले जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादवको धोकापूर्ण कामले एमाले जसपा गठबन्धन संकटमा परेको हो ।

आफ्नो स्वार्थ पूरा गर्नका लागि जुनसुकै हतकण्डा अपनाउन पछि नपर्ने प्रदीप यादव अहिले आफ्नै गठबन्धनमा रहेको एमालेका नेता कार्यकर्ताहरुलाई जसपामा भित्र्याएर गठबन्धनबीच विश्वासको संकट पैदा गरेका छन् । कुनै समयमा एमालेका नेता कार्यकर्ताहरुलाई गाउँ गाउँबाट झाडुले लखेट्नुपर्छ भन्दै उत्तेजित भाषण गर्ने यादव अहिले उनै एमालेसँग गठबन्धन गरेर पनि अझै पार्टी नै भत्काउने खेलमा लागेका छन् ।

पर्सामा निर्वाचन क्षेत्र नम्बर १ र निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुको गतिविधिले एमाले जसपा गठबन्धनबीच नै विश्वासको संकट देखापरेको छ । प्रदीप यादवले वडा नम्बर २२ का पूर्व वडा अध्यक्ष ग्यासुद्दीन मियाँ र वडा नम्बर १६ मा एमालेका नेता कार्यकर्ताहरुलाई जसपामा भित्र्याएका छन् । उनले जन्नत अन्सारीलाई जिताउनुपर्छ भन्दै एमालेबाट पार्टी प्रवेश गराएको स्रोतले जनाएको छ ।

त्यस्तै एमालेका राजकुमार गुप्ताले पनि आफूलाई जित सहज बनाउनका लागि जसपा, लोसपाका नेता कार्यकर्ताहरुलाई आर्थिक प्रभावमा पार्टीमा प्रवेश गराएको स्रोतको दावी छ । स्थानीय तहको जिल्ला समन्वय समितिको निर्वाचनमा पनि प्रदीप यादवले नेपाली कांग्रेससँग भएको गठबन्धनलाई धोका दिएर आफ्नो स्वार्थ अनुकूल एमालेका राजकुमार गुप्तासँग तालमेल गरेका थिए ।

गुप्ताले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका मेयरका उमेदवार विजय कुमार सरावगीलाई हराउन जसपाका उमेदवार राजेशमान सिंहको पक्षमा कार्यकर्ता परिचालन गरेका थिए । स्थानीय निर्वाचनमा आफ्नो पार्टीको उमेदवार जिताउन लागेका विचारी यादवलाई समेत हराउने योजनामा राजकुमार गुप्ताले प्रदीपसँग साठगाँठ गरेको हुन सक्ने आकलन गरिएको छ । विचारी यादवलाई हराउने योजना अनुरुप नै यादवले जसपाबाट जन्नत अंसारीलाई स्वतन्त्र उमेदवार बनाएको आरोप एमालेका इमान्दार कार्यकर्ताले लगाएका छन ।

त्यसमा पनि एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज राजकुमार गुप्ताले भूमिका खेलेका थिए । राजकुमार गुप्ता दुवै दलको साझा उम्मेदवार भए पनि चुनावी सहयात्रामा रहेकै दलका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् । उनले जसपाका पोखरिया नगर अध्यक्ष गोवर्धन यादवसहितलाई पार्टी प्रवेश गराएका हुन् । उता प्रदीप यादवले मधु गुप्तालाई हराउन उदेश्यका साथ राजकुमारसँग साठगाँठ गरेको आरोप जसपा कार्यकर्ताले लगाएका छन् । प्रदीप यादवको योजना अनुसार गुप्ताले लोसपाका तिवारीलाई आफ्नो पार्टीमा प्रवेश गराएको बताइएकाे छ ।

राजकुमारले आफ्नो फेसबुक पेजमा यादवसहितका सयौंजना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पोस्ट राखेका छन् । चुनाव नजिकिँदै जाँदा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्र चौधरीतर्फ जनमत बढ्दै गएको र उनको क्षेत्रमा एकीकृत समाजवादीबाट प्रदेसभामा उम्मेदवार बनेका प्रल्हाद गिरीसँगको टसलका कारण राजकुमारले चुनावमा आफैंलाई सहयोग गरिरहेको दलका नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याएका छन् ।

जसरी पनि जीत हात पार्ने एकल ध्याउन्नमा यादव र गुप्ता लागेका छन् । आफ्नो स्वार्थ लाभको लागि गठबन्धनलाई नै भत्काउने र नेता कार्यकर्ताहरुको विचार र भावना माथि नै खेलबाड गर्ने यादव र गुप्ताको गतिविधिले एमाले–जसपा गठबन्धन पर्सामा विश्वसनीय नहुने देखिएको छ ।

पर्साको बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले पनि गठबन्धनमा धोका दिदै राजकुमार गुप्तालाई जिताउन आफ्नो छोरा निमेश तिवारीलाई एमालेमा प्रवेश गराएका छन् । उनले निर्वाचन क्षेत्र नं. ३ ख मा नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्यका प्रत्यासी प्रल्हाद गिरीलाई जिताउन आफ्नै दलको चुनावी तालमेललाई समेत लत्याएका हुन् ।

लोसपाबाट गाउँपालिकाको अध्यक्षमा चुनिएका तिवारी अहिले नेकपा समाजवादीका गिरीलाई जिताउन लागि परेका छन् । उनले आफ्नो प्रभावमा रहेको लोसपाको भोट प्रतिनिधिसभा सदस्यतर्फ एमालेका राजकुमार गुप्तालाई दिलाउने र राजकुमारबाट गिरीका लागि सहयोग लिने गोप्य समझदारी भएको बताइएको छ ।

एमाले जसपा गठबन्धनमा प्रदेशसभा सदस्यका उमेदवार मधु गुप्ता रौनियारलाई हराउन राजकुमारले प्रलाहद गिरीलाई आफ्नो पार्टीको मत दिन आश्वासन दिएको बतान्छ । आफ्ना पार्टी कार्यकर्ताको विश्वास नगर्ने र गठबन्धन प्रति समेत इमान्दार नदिएपछि पर्सा १ मा प्रदीप यादव र ३ मा राजकुमार गुप्ताको अवस्था कमजोर बन्दै गएको छ । दुवै जना हार्ने अवस्थामा पुगेपछि अव पैसाबाट भोट खरिद गर्न आफ्नो गठबन्धन बाहिर रहेका विभिन्न पार्टीका कार्यकर्तालाई प्रलोभन देखाउन थालेको बुझिएको छ ।


सम्बन्धित समाचार