Logo

३० कार्तिक, वीरगञ्ज । जसपा–एमाले गठबन्धनबाट पर्सा निर्वाचन क्षेत्र नं. ४ का नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उमेदवार जालिम मियाँले जातिय र साम्प्रदायिक विद्वेष फैलाउने गरि अभिव्यक्ति दिएको भन्दै कार्वाहीका लागि निर्वाचन आयोगमा उजुरी परेको छ ।

एमालेका उमेदवार मियाँले क्षेत्र नं. ४ को जगरनाथपुरमा आयोजित सभालाई सम्वोधन गर्दै मधेसी र पाहाडीया समुदाय विच द्धन्द भड्काउने उदेश्यले अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसका उमेदवार रमेश रिजालले बुधवार आयोगमा उजुरी दिएका छन् ।

निर्वाचन आचार संहिता २०७९ को दफा १३ को १ (ब) मा कुनै साम्प्रदायिक विद्वेष फैलाउनेगरी प्रचार प्रसार गर्न वा मत माग्न नुहुने व्यवस्था गरेको छ । एमालेका उमेदवार मियाँले सामाजिक सदभाव भड्काउने गरी दिएको अभिव्यक्ति सहितको भिडियो र लिखित निवेदन आयोगमा पठाएको नेपाली कांग्रेसका उमेदवार रमेश रिजालले जानकारी दिए ।

निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा २२ को १ (ग) मा कुनै धर्म जातजाती वर्ग,क्षेत्र वा सम्प्रदाय विच सुसम्वन्ध खलल पु¥याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रियताको आधारमा धृणा वा विद्वेष उत्पन्न गर्न नहुने व्यवस्था गरेको छ । उक्त दफाको (२)मा यस्तो कसुर गर्नेलाई २ लाख रुपियाँ जरीवाना र ३ बर्ष कैद सजाय हुने व्यवस्था गरेको छ ।

एमालेका उमेदवार विरुद्ध परेको उजुरीका वारेमा आफूलाई कुनै जानकारी नभएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताए । म अहिले पर्साको निर्वाचन क्षत्र नं. ४ मा आएको छु त्यहीँ भएर उजुरीका वारेमा थाहा भएन, पोखरेलले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले यो विषय निर्वाचन आयोगको क्षेत्राधिकार भित्रको भएकोले यसमा आफूले केही गर्न नसक्ने बताए ।


सम्बन्धित समाचार