Logo

वीरगन्ज, १ मंसिर । पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीलाई अर्का स्वतन्त्र उम्मेदवार बालेश्वर चौधरीले समर्थन गरेका छन ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मै उम्मेदवारी दिएका चौधरीले द्विवेदीलाई समर्थन गर्ने बताउदै आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने भएका हुन । दुवै उम्मेदवारबीच आज भएको भेटमा उम्मेदवारी निष्क्रिय बनाई द्विवेदीलाई समर्थन गर्ने सहमती भएको हो ।

नेपालको राजनीतिमा स्वच्छ छवि भएको इमान्दार नेताको खाँचो भईरहेको बेला तीनदशक लामो राजनीति गरेका द्विवेदीको व्यक्त्वि र छविमा कुनै किसिमको दाग नलाएकोले नै युवाको नेतृत्व गरेको आफूले समर्थन गरेको चौधरीले बताए ।

उनले अहिलेका युवाहरुले राजनीतिक संस्कार भएको व्यक्तिको खोजीमा रहेको र त्यो व्यक्ति अजय द्विवेदी पनि भएकोले आफूले समर्थन गरेका बताए । पूराना राजनीतिक अनुभव र उहाँमा भएको राजनीतिक संस्कार युवाहरुले पनि सिक्नुपर्ने उनको भनाई थियो ।

केही राजनीतिक दलका नेताका कारण प्रदुषित भएको पर्सा जिल्लाको राजनीतिलाई जनताको पक्षमा लैजान सक्ने क्षमता अजय द्विवेदीमा देखिएकोले आफूले उनको पक्षमा मत माग्ने गरी उमेदवारी निस्कृय पारेको चौधरीले बताए ।

यसअघि निर्वाचित सांसदले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा काम गर्न नसकेको, आफ्नो आसेपासेलाई मात्र बजेट चलाउन दिएर बजेट दुरुपयोग गरेको, केही स्थानमा टावर लाइट, धर्मशाला, मठ मन्दिर र मस्जितमा बजेट खर्च गरेकोले उसलाई यसपटक सहयोग नगर्ने पक्षमा मतदाता रहेको चौधरीको भनाई छ ।

स्वतन्त्र उम्मेदवार द्विवेदीले विचारको राजनीतिको खडेरी परेको अवस्थामा एकजना युवाले विचारको राजनीतिबाट प्रभावित भई समर्थन गरेकोमा धन्यवाद दिदै उम्मेदवार द्विवेदीले युवाहरुको जोश र जाँगरले आफूलाई थप उर्जा मिलेको बताए ।


सम्बन्धित समाचार