Logo

१८ पुष, वीरगञ्ज । मधेसका जिल्लाहरुमा हिजोदेखि बढेको शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ । चिसोबाट नागरिकलाई बचाउन स्थानीय पालिकाहरुले चोक चोकमा दाउरा बाल्ने निर्णय गरेपनि बन कार्यालयले दाउरा उपलब्ध नगराएको पालिका प्रमुखहरुले आरोप लगाएका छन् ।

बिहान देखि चलेको चिसो हावा र बाक्लो हुुसुको कारण जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन।

वीरगञ्ज महानगरपालिका लगायत बारा र पर्साका अधिकांश पालिकाहरुले विद्यालय केही दिनको लागि बन्द गरेका छन् । चिसोमा वृद्धवृद्धा, बालबच्चा र बिरामीहरु बढी प्रभावित हुने गरेको पाइन्छ । शितलहरबाट बच्न तातो झोलिलो खानेकुरा खान र न्यानो कपडा लगाउन डाक्टरहरुले सुझाव दिएका छन् ।

अत्यधिक चिसोका कारण बाटोमा चल्ने सवारीसाधन न्यून देखिएका छन। दैनिक ज्यालादारी गरी खाने, गरिब ,बिपन्न, असहाय तथा दलित समूदायका नागरिकहरुलाई समेत चिसोका कारण कठिनाई भोग्नु परेका जिराभवानी गाउपालिका २ का माथुर माझी मुस्हर बताए।

बिगतका शितलहरका समयमा स्थानीय जनप्रतिनिधिहरुले आगो ताप्न दाउरा बितरण गरेका थिए। तर यसपटक दाउरा समेत बितरण नगरेका स्थानीयले जनाएका छन।

बिपद व्यवस्थापन समिति पर्साको बैठकमा दाउरा बितरण गर्ने निर्णय गरिएको पटेर्वासुगौली गाउपालिका अध्यक्ष दिनेश कुमार चौधरीले बताए। निर्णय भएको भोली पल्ट नै दाउराको राजश्व डिभिजन वन कार्यालयको खातामा दाखिला गरेको तर हालसम्म दाउरा उपलब्ध नगराएका अध्यक्ष चौधरीले बताए।

जिराभवानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताका अनुसार डिभिजन वन कार्यालयले पालिकाहरूलाई काखापाखा गर्दै केही पालिकालाई दाउरा बितरण गरेको बताए। दाउराका लागि दैनिक एक जना कर्मचारी डिभिजन वनको कार्यालयमा धाईरहेको अधिकृत मेहताले गुनासो गरे।

यस सम्बन्धमा डिभिजन वन कार्यालय पर्साका वन अधिकृत फरमान मियाँका अनुसार कार्यालयका प्रमुख बिदामा रहेकाले दाउरा उपलब्ध गराउन नसकेका बताए। कार्यालयका हाकिम आउने बितिकै रौटहठबाट दाउरा उपलब्ध गराउने अधिकृत मियाँले बताए।


सम्बन्धित समाचार