
३ वैशाख,काठमाडौं । प्रहरीले तस्करीको दुई करोड रुपैयाँभन्दा बढीको सुनचाँदीसहित ९ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरी वृत्त बौद्धको टोलीले विभिन्न स्थानबाट ती ९ भारतीयलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र घर भइ जोरपाटी बस्ने ३० वर्षीय नबनाथ बाकु कसदी, २० वर्षीय सन्दीप पोपट हजारे, २२ वर्षीय अन्सार दिलावर सिकल्गार, १८ वर्षीय सुरज राजेश मदने, २१ वर्षीय अरमान हनिफ इनामदाय, २२ वर्षीय मनोज सुभाष सकट, ३८ वर्षीय अमोल कुमार गोस्ले, २० वर्षीय सुनिल मिटकरी र २० वर्षीय सुरज नन्दीवाली रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार, यो समूहले भन्सार छली गरी बिना बिलबिजक सुनको कारोबार गर्ने गरेको थियो। प्रहरीले उनीहरूलाई सुन रिफाइनिङ एण्ड टन्च हाउसबाट पक्राउ गरेको हो।
प्रहरीले जोरपाटी, कपन र चाबहिलका टन्च हाउसबाट १ किलो ७६.५१८ ग्राम सुन बरामद गरेको छ, जसको अनुमानित मूल्य १ करोड ७० लाख १० हजार ६० रुपैयाँ रहेको छ।
त्यसैगरी, प्रहरीले १८ किलो ४५.५२१ ग्राम चाँदी पनि बरामद गरेको छ, जसको मूल्य ३० लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ। प्रहरीले उनीहरूको साथबाट ८ लाख २७ हजार ५ सय नेपाली र ११ हजार ७ सय भारतीय रुपैयाँ नगद पनि बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ।