२३ साउन,वीरगञ्ज ।वर्षाका कारण वीरगञ्जमा सयौं बिगाहा धानबाली डुबानमा परेको छ । स्थानीय भेडाहा खोलामा आएको बाढीले किसानहरूको धानबाली डुबानमा परेको हो ।
वीरगञ्ज महानगरको वडा नम्बर ३० को लालपर्सा, प्रसोतीपुर टोल, वडा नम्बर ३१ को बेलवा टोलका सयौं किसानको धान बाली डुबेको छ । भेडाहा खोलामा आएको बाढीले निकास नपाउँदा लालपर्सा टोलका केही घर पनि डुबानमा परेका छन् । बाढीले स्थानीय मुकेश ठाकुरको घर डुबेको छ । आफ्नो घरमा बाढीको पानी पसेकाले धर्मशालामा परिवार लिएर बसिरहेको उहाँले बताउनुभयो ।
बाढीमा जंगलबाट विषालु सर्पसमेत बगेर आएको ठाकुरले जानकारी दिनुभयो । भेडाहा खोलाको बाढीले गर्दा वडा नम्बर ३० र २८ जोड्ने सडक अवरुद्ध भएको छ । यस्तै, वडा नम्बर २२ जगरनाथपुरदेखि मिलन चोक जोड्ने सडकखण्डसमेत बाढीले अवरुद्ध बनाएको छ ।
बाढी आएको खबर पाएपछि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, महानगरका मेयर राजेशमान सिंह र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बाढीग्रस्त क्षेत्रको अनुगमन तथा निरिक्षण गर्नुभएको थियो । अनुगमनको क्रममा स्थानीयले खोलामा बाँध बनाउन जरुरी रहेको बताएका थिए ।

जवाफमा सांसद यादव र मेयर सिंहले स्थानीयकै अवरोधका कारण भेडाहा खोलामा बाध निर्माण गर्न नसकिएको बताएका थिए । उहाँले बाँध बनाउने काम अघि बढाईएको बताउनुभयो ।




















