Logo

२५ कार्तिक, वीरगञ्ज । राष्ट्र बैंकको गलत नीतिका कारण मधेसका नाकाबाट अवैध रुपमा चाँदीका गर–गहनाको चोरी पैठारी बढेको छ । दीपावलीलाई लक्षित गरेर ठूलो परिमाणमा चाँदीको अवैधरुपमा चोरी पैठारी बढेको हो ।

तीन बर्षअघि बार्षिक १ लाख ६७ हजार किलो चाँदी भंसारमा राजश्व तिरेर नेपाल भित्रिएको थियो । तर गत बर्ष २८ हजार किलो चाँदी मात्र बैधानीक मार्ग हुदै नेपाल भित्रिएको भंसार कार्यालयको तथ्यांकबाट प्रष्ट हुन्छ ।

सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरुको भनाई अनुसार नेपालमा बार्षिक रुपमा न्यूनतम २ लाख किलो चाँदीको कारोवार हुन्छ । सरकारले दुई बर्षदेखि चाँदीको आयातमा नियन्त्रण गरेपछि नेपाली बजारमा भारतबाट अवैध मार्ग हुदै चाँदीका तयारी गरगहना र कच्चामाल भित्रिने गरेको व्यवसायीहरुको भनाई छ ।

नेपाल राष्ट्र बैकले समेत चाँदीको पैठारीमा कोटा प्रणाली लगाउदै नियन्त्रण गरेको कारण चोरी तस्करी हुदै नेपाली बजारमा आउने गरेको व्यवसायीहरुको गुनासो छ । नेपाल राष्ट्र बैकले ६० हजार डलर बरावरको चाँदी एकपटकमा आयात गर्न पाउँने नीति बनाएको छ ।

पाँच बर्षको तथ्यांकले के देखाउँछ ?

नेपाल राष्ट्र बैकको एक तथ्यांक अनुसार भंसारमा राजश्व बुझाएर आर्थिक बर्ष २०७५/०७६ मा २ लाख ८८ हजार ४५५ किलो चाँदी नेपाल भित्रिएको थियो । उक्त परिमाण बराबरको चाँदीको भंसार मूल्यांकन १६ अर्व ८ करोड ६३ लाख ६३ हजार रहेको थियो । त्यस बर्ष चाँदी आयातबाट नेपाल सरकारले १ अर्व ६१ करोड ५३ लाख ७४ हजार राजश्व उठाएको थियो ।

त्यसैगरी आर्थिक बर्ष २०७६/०७७ मा ९ अर्ब ४९ करोड ३० लाख ८० हजार मूल्य बराबरको १ लाख ४४ हजार २०३ किलो चाँदी नेपाल भित्रिएको छ । चाँदीको पैठारीबाट ९७ करोड १२ लाख ६७ हजार भंसार राजश्व असुल भएको देखिन्छ ।

आर्थिक बर्ष २०७७/०७८ मा ९अर्व ८८ करोड २२ लाख १३ हजार मूल्य बराबरको १ लाख ७ हजार २११ किलो चाँदी पैठारी भएर आएको छ । उक्त परिमाणको चाँदी आयात गर्दा भंसार राजश्व बापत ९१ करोड १३ लाख १ हजार उठेको भंसार कार्यालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसरीनै आर्थिक बर्ष २०७८/०७९ मा १५ अर्ब ९४ करोड ९४ लाख ३७ हजार मूल्य बारबरको १ लाख ६७ हजार ७११ किलो चाँदी वैधानीक मार्ग हुदै नेपाल भित्रिएको थियो । उक्त चाँदीको पैठारीबाट २ अर्ब ५१ करोड ७५ लाख ९२ हजार राजश्व संकलन भएको थियो ।

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा नियन्त्रण गर्दै नयाँ नीति ल्याएपछि चाँदी अवैध मार्ग हुर्दै नेपाल भित्रिन थालेको हो । गत आर्थिक बर्ष २०७९/०८० मा २ अर्ब ७३ करोड ४ लाख २ हजार मूल्य बरावरको २८ हजार ३७५ केजी चाँदी भंसार तिरेर नेपाल भित्र्याइएको छ । यसबाट नेपाल सरकारलाई ३२ करोड ६८ लाख ८० हजार रुपियाँ राजश्व संकलन भएको देखिन्छ ।

चालु आर्थिक बर्ष २०८०/०८१ को असोज मसान्त सम्म ८ हजार ६२१ केजी मात्र भंसार हुर्दै नेपाल पैठारी भएको छ । यो अवधिमा भंसार कार्यालयले १२ करोड ८५ लाख २१ हजार राजश्व उठाएको छ ।
चाँदीको कारोवारबाट बार्षिक अढाई अर्ब राजश्व उठाउदै आएको सरकारले चाँदीमा कोटा प्रणाली लागु गरेपछि झण्डै ८५ प्रतिशत राजश्व गुमाउदै आएको छ । नेपाली बजारमा अहिले पनि चाँदीका गर–गहनार भाडाहरुको माग तीन बर्ष अघिको तुलनामा देखिएको व्यवसायीहरुको भनाई छ ।

प्रहरीको संरक्षणमा चाँदी तस्करी ?

खुला सीमानाकाको फाइदा उठाउदै तस्करहरुले ठूलो परिमाणमा अवैधरुपमा चाँदीको तस्करी गर्दै आएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा अवैध मार्ग भएर चाँदी आउने गरेको व्यवसायीहरुको भनाई छ ।

नेपालको बजारमा बार्षिक रुपमा कम्तीमा २ लाख किलो चाँदीको कारोवार हुने गरको छ । भंसार तथ्यांक हेर्ने हो भने गत बर्ष २८ हजार किलो चाँदी मात्र नेपाल भित्रिएको छ । नेपालमा चाँदीका गरगहना देखि विभिन्न डिजाइनका समान बनाउने कारखाना छैन । अहिले व्यवसायीहरुले भारतबाट चाँदीका तयारी गरगहना अवैध मार्ग हुदै ल्याउने गरेका छन् ।

चाँदीका गहना चोरी मार्ग हुदै नेपाल भित्रिएको सूचना प्रहरीलाई छ तर उसले रोक्न चाहदैन् । वीरगञ्जका एक व्यवसायीका अनुसार प्रहरीकै संरक्षणमा चाँदी भारतका विभिन्न नाकाबाट नेपाल आउने गरेको छ ।

शुक्रवार मात्र प्रहरीले ठूलो परिमाणमा सर्लाहीमा चाँदीका गहना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको अधारमा सर्लाही मलंगवा नगर पालिका वडा नम्बर ८ लच्का स्थित बाटोबाट चाँदीको गहना सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी गत कार्तिक १७ गते विराटनगरमा एक सय किलो चाँदी बरामद भएको छ । विराटनगर महानगरपालिका–११ स्थित पशुपति ज्वेलर्सबाट तयारी गरगहना १५३ ग्राम ८ मिलिग्राम, चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम ५ मिलिग्रामसहित चाँदी बरामद गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय मोरङ विराटनगरबाट संयुक्त रूपमा खटिएको अनुगमन टोलीले उक्त ज्वेलर्समा बिल बिनाको सुनचाँदीको तयारी गहना फेला पारेको हो। त्यसपछि प्रहरीले ज्वेलर्सका संचालकलाई पक्राउ गरेको थियो।

बार्षिक २ अर्ब राजश्व घाटा

नेपाल राष्ट्र बैकले कुनै एउटा आयातकर्ताले एकपटकमा ६० हजार अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद«ाको सटही सुविधा लिनेगरी चाँदी आयात गर्न पाउँने व्यवस्था गरेको छ ।

जसले गर्दा एउटा आयातकर्ताले प्रति पटक जम्मा ६० के.जी. सम्म आयात गर्न सक्नेछ । नेपालमा चाँदी आयातकर्ताहरुको सँख्या ७ देखि ९ सम्म रहेको छ । जसले गर्दा अहिलेको माग अनुसारको चाँदी आयात हुन नसकेकोले धेरै चाँदीका गरगहना र सजावटका सामानहरु बनाउने उद्योग तथा कारखानाले नियम विपरित विभिन्न विचौलियाहरुबाट चाँदी किन्न बाध्य भएको बताउदै आएका छन् ।

बजारको माग अनुसार चाँदी वैधानीक मार्ग भएर आउन नसक्दा राज्यलाई बार्षिक २ अर्ब राजश्व घाटा भएको छ । सरकारको नीतिले अहिले बार्षिक २८ हजार किलो मात्र नेपालमा चाँदी आउने गरेको छ । जवकी नेपालको बजारमा अहिले पनि चाँदीको माग बार्षिक झण्डै डेढ लाख किलो छ ।


सम्बन्धित समाचार