Logo

१२ फागुन, काठमाडौं । नेपाल रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले संघका अध्यक्ष र पूर्व पदाधिकारीले सुनको भारत तर्फ तस्करी गरेको भन्दै प्रहरीमा उजुरी गरेका छन् ।

विभिन्न जिल्लामा जाने सुनको कोटा स्टकमा राख्न लगाई भरियाको नाउँमा खोलिएका कम्पनी मार्फत सुनको अवैध व्यापार भएको भन्दै उक्त कार्यमा संलग्न व्यक्तिलाई छानविन गरी कार्वाहीको दायरामा ल्याउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दर्ता गराएका हुन ।

सुन आयतमा कोटा प्रणाली लगाएपछि सुन व्यवसायसँग सम्वन्धित संघ र महासंघले सुनको मूल्य निर्धारण गर्दै आएको छ । संघका मुख्य पदाधिकारीहरुले विभिन्न जिल्लामा वितरण गर्नुपर्नेमा खुद्रा तथा साना व्यवसायीको कोटा होल्डगरी बाणिज्य बैंकको टेजरी विभागसँग मिलेमतोमा आफ्ना कामदारको नाउँमा दर्ता भएका कम्पनी मार्फत सुनको अवैध व्यापार गर्दै आएको भन्दै गुप्ताले उजुरी दर्ता गरेका हुन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले केही व्यवसायीका विरुद्ध सुन भारत तर्फ तस्करी गरेको उजुरी परेको बताए । उनले नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले केही संघका पदाधिकारी तथा व्यवसायीको नाम किटेर उजुरी दिएको बताए ।

एसएसपी राठौरले भने “को कसका विरुद्ध उजुरी परेको हो भनेर अहिलेनै नाम सार्वजनिक गर्न मिल्दैन ।” शुक्रवार मात्र उजुरी परेकोले आइतवार देखि छानविन गरिने एसएसपी राठौरले जानकारी दिए । संघको जिम्मेवार पदाधिकारीले व्यक्तिको नाम तोकेर सुनको तस्करी भइरहको उजुरी दिएको बिषयलाई गम्भिर रुपमा लिएर छानविन गरीने राठौरले बताए ।

प्रहरी स्रोतका अनुसार गुप्ताले संघका अध्यक्ष सुमनमान ताम्रकार, निवर्तमान अध्यक्ष जोसना श्रेष्ठ, संस्थापक अध्यक्ष सुरेशमान श्रेष्ठ, द्वितिय उपाध्यक्ष निर्मल तुलाधर लगायत केही ब्यापारीको नाम बैंकबाट लिएको कोटाको सुन देखाएर अवैध मार्गभएर भित्रिएको सुन भरिया मार्फत भारत तस्करी गरेको आरोप लगाएका छन् ।

सुनचाँदी व्यवसायको इतिहासमा संघको जिम्मेवार पदाधिकारीले संघमा भएका अन्य पदाधिकारी विरुद्ध सुनको अवैध तस्करी गरेको भन्दै प्रहरीमा छानविन र कार्वाहीको लागि उजुरी दिएको यो पहिलो पटक हो ।

प्रहरी स्रोतका अनुसार गुप्ताले चारै जना पदाधिकारी विरुद्ध दिएको उजुरीमा साना तथा मझौला व्यवसायीले कोटा अनुसार पाउँनुपर्ने सुन बैंकको स्टकमा राख्न लगाई १५ दिनको म्याद सकिएपछि तीनै पदाधिकारीले खडा गरेको विभिन्न कम्पनीको नाउँमा सुन उठाउने गरेको उजुरी पत्रमा उल्लेख गरेका छन् ।

विभिन्न कम्पनीको नाउँमा लिइएको सुन र चिन तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा नेपाल भित्राइएको सुन भरिया मार्फत भारत तस्करी गर्ने कार्यमा संघका पदाधिकारीको संलग्न रहेको उजुरी पत्रमा गुप्ताले उल्लेख गरेको प्रहरी स्रोतले जनाएको छ ।

विगत लामो समयदेखि सुनको अवैध कारोवारमा लागेका संघका पदाधिकारीहरुले होटल, धरजग्गा र क्यासिनोमा समेत लगानी गरेको स्रोतको भनाई छ । पाँच बर्षको अवधिमा पदाधिकारीले कमाएको सम्पत्ति, उनीहरुको कारोवार, बैंक खाता तथा सुन खरिद र विक्री खाता जाँच गर्ने हो भने उनीहरुले तस्करी मार्फत राज्यलाई ठगी गरेको रहस्य सार्वजनिक हुने संघका साना व्यवसायीहरुको भनाई छ ।


सम्बन्धित समाचार