Logo

२४ फागुन, काठमाडौं । नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्रकारले संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्तालाई बुधवार विभिन्न आरोप लगाउदै कार्वाही गर्ने उदेश्यले स्पष्टीकरण सोधेका छन् ।

सुनको कोटा दुरुपयोग गरी त्यहीँ कोटाको आडमा भारत तर्फ सुन तस्करीमा संघका पदाधिकारी रहेको भन्दै संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले सामाजिक सञ्जाल र नेग्जाका सदस्यहरु रहेको ह्वाट्सएप ग्रुपमा सार्वजनिक गरेको विषयलाई लिएर संघका अध्यक्ष ताम्रकारले स्पष्टीकरण सोधेका हुन ।

अध्यक्ष ताम्रकारले वरिष्ठ उपाध्यक्ष गुप्तालाई फागुन २३ गतेको मितिमा पाँच पृष्ठको स्पष्टीकरण पत्र पठाउदै २५ वटा सवाल उठाएर त्यसको जवाफ ७ दिन भित्र दिन भनेका छन् । उनले संघ तथा महासंघका पदाधिकारी र नियमक निकायको समेत संलग्नतामा सुन तस्करी भएको बिषय कहाँ, कसले, कुन कम्पनी र मितिमा सुनको तस्करी गरेका हुन त्यसको तथ्य सहितको प्रमाण पेश गर्न स्पष्टीकरणको पत्रमा भनिएको छ ।

स्पष्टीकरण सोधिएको पत्रमा संघको गोपनियताको शपथ खाएको पदाधिकारीले संघ भित्रका गोप्य कुरा सार्वजनिक किन गरिएको हो भनी प्रश्न उठाइएको छ । संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले संघ भित्रको बेथितिलाई लामो समय देखि संघ भित्र उठाउदै आएको बताएका छन् । उनले जिल्लामा जाने सुन केही पदाधिकारीले मात्र लिनेगरेको विषयलाई गम्भिर रुपमा उठाउदाँ आफू माथि ज्यानमान धम्की र संघबाट हटाउने षणयन्त्र रचिएको गुप्ताको आरोप छ ।

संघका सदस्यहरु भएको ह्वाट्सएप ग्रुपमा राखेको विषयलाई मिडियावाजी गरी व्यक्तिगत दुश्मनी, प्रतिष्ठामा क्षति पुयाउने कार्यहरुका लागि तपाईले आफ्नो नैसर्गिक अधिकार, दायित्व र कर्तव्य पालन नगरेको भन्दै संघको विरुद्ध गतिविधिमा संलग्न भएको आरोपमा विधानको दफा ११ ज झ र ञ बमोजिमको कारवाही किन नगर्ने भनि स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरण पत्रमा आफुलाई नेग्जाको अवको अध्यक्ष हुने व्यक्ति भनिएको र वर्तमान अध्यक्ष सुमनमान ताम्राकारले राजिनामा दिएमा संघका पदाधिकारी माथि लगाएका सबै आरोप र समस्याहरु समाधान हुन्छन भन्ने आधार दिन सक्नु हुन्छ ? भनिएको छ ।

बैंक कर्मचारीसँगको मिलेमतोमा स्टकमा रहेको सुन दुरुपयोग गरेको बिषय र संघका पदाधिकारी माथि आरोप लक्षित भएको बिषयलाई स्पष्टीकरणको रुपमा उठाइएको छ । संघको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर नेपाली कालीगढ र साना व्यवसायीहरुको हितमा सक्रिय रही आवाज उठाउने कुरालाई राम्रो भनिएको स्पष्टीकरणमा नेग्जाबाट आफ्नो कम्पनीले वार्षिक ६ केजी सुनको कोटा प्राप्त गरेको संघको अभिलेखवाट स्पष्ट हुन्छ भनि आरोप लगाइएको छ ।

संघका अध्यक्ष सुमनमान ताम्राकार, संस्थापक अध्यक्ष सुरेशमान श्रेष्ठ महासचिव जयराम पाण्डेय र किसान सुनार विरुद्ध “धाक धम्की तथा ज्यान अपहरण“ गर्ने उद्देश्यले भय र त्रास सिर्जना गरेको हुंदा आफ्नो जिउधनको सुरक्षा पाउँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौमा गत फागुन ११ गते दर्ता गरेको उजुरीको प्रमाण पेश गर्न स्पष्टीकरण पत्रमा भनिएको छ ।

त्यसैगरी गत फागुन १० गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नेपाल रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश मानश्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ तथा नेपाल रत्न तथा आभुषण संघ काठमाडौका निवर्तमान अध्यक्ष ज्योत्सनाश्रेष्ठ, नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका अध्यक्ष सुमन मान ताम्राकार, नेपाल रत्न तथा आभुषण संघ काठमाडौका द्वितीय उपाध्यक्ष निर्मलज्योति तुलाधर र यिनका सहयोगीहरुलाई सुन तस्करीको विषयमा छानविन गर्न भन्दै ठाडो किटानी जाहेरी दिएको विषयको सत्यता के हो भनी सोधिएको छ ।

छानविनबाट जोगिन स्पष्टीकरणको नौटंकी

नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्राकार लगायतका पदाधिकारीले सुन भित्रको अवैध धन्दाको पोल खुल्ने डरले आफू माथि स्पष्टीकरणको नौटंकी मंचन गरिएको संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले बताए ।

महासंघ र संघको सिफारीसमा सुनको कोटा वितरण हुदै आएको र कुन मितिमा कुन कम्पनीले कति सुन उठाएको हो भन्ने रेकर्ड समेत संघमा रहेको हुदाँ संघसँग भएको सुन वितरण सम्वन्धी रेकर्ड सार्वजनिक गरी आफू इमान्दार भएको प्रमाणित गर्न आरोपित पदाधिकारीलाई गुप्ताले चुनौति दिएका छन् ।

संघका अध्यक्ष सुमनमान ताम्राकारले सोधेको धेरै प्रश्नको जवाफ विभिन्न माध्यमबाट आफूले दिएको गुप्ताको भनाई छ । अझै सार्वजनिक रुपमा बाहिर नआएका केही बिषय छन ती कुरालाई राज्यको निकायमा उभिएर प्रमाण सहित जवाफ दिने छु, गुप्ताले भने, “मैले जसलाई आरोप लगाए उसलाई किन प्रमाण दिउँ ? सरकारका निकायले मागे आफूले साना व्यवसायीको सुन दुरुपयोग गर्ने संघका पदाधिकारीको नालीबेली खोलिदिने छु, ।”

आरोपितहरुले सोधेको प्रश्नको जवाफ आफूले नदिने उनको भनाई छ । संघका पदाधिकारी विरुद्ध सुनको कोटा दुरुपयोग गरी भारत तस्करी गरेको भनि राज्यको निकायमा उजुरी परेको छ, त्यसको छानविन र कार्वाही नभए सम्म उनीहरुले सोधेको स्पष्टीकरणको कुनै अर्थ छैन, गुप्ताले भने ।

संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले सुनको मूल्य निर्धारण र कोटा सिफारीस गर्ने विभिन्न संघ र महासंघमा भएका बेथिति छानविन गर्न एउटा निष्पक्ष आयोग सरकारले नै गठन गर्नुपर्ने बताए । संघका पदाधिकारीले सुनको तस्करीलाई सहयोग पुग्ने गरी नीतिगत रुपमा गरेको अपराधको राज्यले गम्भिर रुपमा छानविन गर्नुपर्ने उनको माग छ ।

सुमन ताम्राकारज्यू यसको जवाफ दिनु पर्दैन ?

नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमनमान ताम्राकारले रेसखवर डिजिटल पत्रिकालाई सीमाक्षेत्रबाट प्रकाशित अनलाईन भनेर होच्याउन खोजेका छन् । उनले संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले उठाएको बिषयलाई समाचार बनाइएको बिषयको कुनै जवाफ नदिई पत्रिकालाई क्षेत्रियताको आरोप ताम्राकारले लगाएका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष गुप्ताको नाउँमा बर्षभरी ६ किलो सुन उठाएको तथ्य संघमा रहेको प्रमाण दिने अध्यक्ष ताम्राकारले आफ्नो र व्यापारीक साझेदार निर्मलज्योति तुलाधरले देशभरका अफिसबाट कति किलो सुन उठाए भन्ने कुरा किन सार्वजनिक गर्ने आट नगरेको ? अरुमाथि हिलो छ्याप्ने अध्यक्ष ताम्राकारलाई पारदर्शिता देखाउन कसले रोकेको छ ?

नेपालमा आधुनिक गहना निर्माण गर्ने कुनै उद्योग कारखाना छैन, बजारमा पाइने अत्याधुनिक गहना कहाँबाट ल्याइएको हो ? त्यसका जवाफ दिनु पर्दैन ? महिनामा एउटा व्यवसायीले कति सुन खरिद गर्न पाउँछ र उसको पसलमा भएका गहनाको स्टक, खरिद र विक्री खाता सार्वजनिक गर्न कसले रोकेको छ ? अध्यक्ष ताम्राकारज्यू ।

संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले उठाएको प्रश्नको जवाफ दिन कसले रोकेको छ, ताम्राकारज्यू ? १३२ किलो सुन र ६१ किलो सुन काण्डमा संघका केही पदाधिकारी जोडिएपछि ती पदाधिकारीलाई जोगाउन शक्ति केन्द्रमा रातारात पुगेको घटना पनि सार्वजनिक गर्न सक्नु परयो नी अध्यक्ष ताम्राकारज्यू ।

सुनको अवैध धन्दामा लागेर कालो धनलाई सेतो बनाउन नीतिगत भ्रष्टाचारमा लागेका व्यापारीको नालीवेली आम पाठकका विचमा लैजाने कुरामा रेसखवर अडिग छ । आगामी दिनमा सुनको अवैध धन्दा गर्ने व्यापारीको कालो कर्तुत सार्वजनिक गर्दै जानेछौ ।

यस बिषयमा जानकारी लिन खोज्दा संघका अध्यक्ष सुमनमान ताम्राकारको मोवाइल नम्वर ९८५१०५६२४६ मा सम्पर्क राख्दा फोन उठाउनु भएन ।


सम्बन्धित समाचार