Logo

२८ फागुन,वीरगञ्ज । बाराको पचरौता नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन् । बाटो भएको जग्गालाई बाटो नभएको भनेर गलत घरबाटो सिफारिस गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएपछि वडा नम्बर ४ का वडा अध्यक्ष कन्हैयालाल यादव निलम्बनमा परेको अख्तियारले जनाएको छ ।

यादवले साविकको वेलदारी स्थित कित्ता नम्बर १७३ को ०–९–५ क्षेत्रफलको जग्गाको बिक्रीकर्ता र खरिदकर्ता समेतको मिलेमतोमा बाटो भएकोलाई पनि बाटो नभएको सिफारिस गरेर नेपाल सरकारलाई प्राप्त हुने राजस्व बापतको रकम चुहावट गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।

अख्यिार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा (३) तथा दफा (९) बमोजिम हुने मागदावी सहित फागुन २४ गते विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएकोले उनी स्वतः निलम्बनमा परेको अख्तियारले जानकारी गराएको छ ।

अख्तियारका अनुसन्धान अधिकृत जगत बहादुर राईले हस्ताक्षर गरेको सूचना मार्फत पचरौता नगरपालिकालाई यादव निलम्बनमा परेको जनाएको हो । अनुसन्धानमा दोषी देखिएका यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम निलम्बन गरिएको अख्तियारको भनाई छ ।


सम्बन्धित समाचार