Logo

१९ चैत, काठमाडौं । नेपाल रत्न तथा आभुषण संघ भित्र देखिएको विवाद समयमा सुल्झाउन नसक्दा संघमा आवद्ध सुनचाँदी व्यवसाय नै धरापमा पर्ने खतरा बढन थालेको छ । संघका अध्यक्ष सुमनमान ताम्राकारले तस्करहरुलाई संरक्षण दिने नीति लिएपछि संघभित्रको विवाद सतहमा आएको व्यवसायीहरुको भनाई छ ।

संघभित्र सुनको कोटा दुरुपयोग गरेका पदाधिकारीहरुलाई जोगाउने नियतले अध्यक्ष ताम्राकारले काम गरेको आरोप उनीहरुको छ । १३ बर्ष देखि सुन खरिदमा कोटा प्रणाली लागु गरिएको छ । सुनमा कोटा लगाएपछि जिल्लामा रहेका साना व्यवसायीले कोटाको सुन सहजढंगले पाउँन सकेका छैनन् ।

सरकारले सुन आयातमा नियन्त्रण गर्दै बाणिज्य बैंक मार्फत दैनिक १० किलो सुन व्यवसायीले खरिद गर्न पाउँने निर्देशिका जारी गरेको थियो । बैंकबाट विक्री हुने सुन केही सीमित व्यापारीले कब्जा गर्न एउटै व्यापारीले ४÷५ वटा कम्पनी खडा गर्ने र ती कम्पनीको शाखाहरु देशका प्रमुख शहरमा राख्न थाले । उनीहरुले तीनै कम्पनीको नाउँमा कोटाको सुन कब्जा गर्दै आएका छन् ।

बाणिज्य बैंकहरु मार्फत विक्री हुने सुन सीमित व्यवसायीको नियन्त्रणमा रहन थालेपछि देशभरका साना व्यवसायीहरुले सुनको कोटा सिफारीस र वितरणमा अनियमितता भएको भन्दै विरोध जनाए । नेपाल रत्न तथा आभुषण संघमा सुनको कोटा दुरुपयोग र सुनको अवैध व्यापारको वारेमा सदस्यहरुले आवाज उठाउन थालेपछि २०७५ साल भद्रौ ११ गते व्यवसायी नरेन्द्र कुमार गुप्ताको संयोजकत्वमा सुन वितरण तथा कार्यविधि अध्ययन समिति गठन भयो ।

समितिले १२ पृष्ठ लामो प्रतिवेदन तयार पार्दै कोटा प्रणालीको दुरुपयोग र सुनको भारत तर्फ तस्करी हुने गरेको विषयलाई समस्याको रुपमा उठाउदै सुधारका लागि सुझाव पेश गरेको थियो । व्यवसायीहरुले प्रतिवेदनमा उठाइएका बिषय कार्यान्वयनका लागि विगत ५ बर्ष देखि संघका जिम्मेवार पदाधिकारीलाई दवाव दिदै आएका छन् ।

संघमा रहेका जिम्मेवार पदाधिकारीहरुले सुनको कोटा दुरुपयोग गरेको र अवैध मार्गबाट आएको सुन बजारमा पठाएको र केही सुन भारत तर्फ तस्करी गरेको आरोपमा संघ भित्र सदस्यहरुले पदाधिकारीको विरोध गर्न थाले । अहिले नेग्जाको ग्रुपमा संघका पदाधिकारी तथा सदस्यहरु एकले अर्कोलाई तस्कर र सुन दुरुपयोगीको आरोप प्रत्यारोप गर्दै आएका छन् ।

संघका अध्यक्ष सुमनमान ताम्राकारले संघका उपाध्यक्ष निमर्लज्योति तुलाधरले गरेको अवैध कारोवारमा अध्यक्ष ताम्राकारको समेत साझेदारी रहेको आरोप सदस्यहरुको छ । तुलाधरलाई सुनको कोटा दुरुपयोग र भारत तर्फ सुन तस्करीको आरोप लगेको छ । अध्यक्ष ताम्राकारले सुन तस्करीको आरोप लागेका निर्मलज्योति तुलाधरमाथि छानवीन गर्नुपर्नेमा उल्टै बेथिति विरुद्ध आवाज उठाउने संघका पदाधिकारीलाई कार्वाही गर्ने धम्की दिदै हिडेको संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताए ।

प्रतिवेदनमा के छ ?

नेपाल रत्न तथा आभुषण संघले २०७५ भदौं ११ गते सुनमा देखिएको बेथितिका सन्दर्भमा के भएको हो र यसलाई सहज बनाउन के गर्नुपर्छ भन्ने बिषयलाई छानवीन गर्न नरेन्द्र कुमार गुप्ताको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो ।

छानवीन समितिले काँचो सुन वितरणमा अनियमितता भेटिएको प्रतिवेदन संघमा बुझाएको थियो । एउटै प्यान नम्वर भएको कम्पनीले देशका प्रमुख शहरमा शाखा खोलेको देखाएर सुन लिनेगरेको, केही जिल्लामा थोक विक्रेतालाई काँचो सुन दिनुपर्नेमा सुन नदिई विल मिलान मात्र गरेको, संघमा बुझाएको सेल्स रिर्पोटमा गहना व्यवसायीले विक्री गरेको विल विजक पेश नगरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

केही थोक विक्रेताले बाहिरी जिल्लामा जाने सुन समेत आफ्नै नाउँको अर्को कम्पनीको नाउँमा पठाउने गरेको, बास्तविक गहना व्यवसायीलाई काँचो सुन नदिई विल मात्र दिने गरेको र सुनको अवैध कारोवार गरेको देखिएको छानवीन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काँचो सुन वितरण गर्दा जिल्लामा ८ जना व्यवसायीलाई दिनुपर्नेमा ३ जनालाई मात्र दिएको, खुद्रा व्यवसायीलाई एकसय ग्राम दिनुपर्नेमा एउटैलाई ५ देखि ८ सय ग्राम सम्म दिएको, बैंकमा बुझाउने र संघमा बुझाउने सेल्स रिर्पोटमा फरक देखिएको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले काँचो सुन वितरण सन्दर्भमा जारी गरेको निर्देशीका विपरीत एउटै प्यान नम्वर भएको फर्मले नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभुषण महासंघबाट सिफारीस लिएर कोटाको सुन दुरुपयोग गरेको देखिएको प्रतिवेदनमा औल्याइएको छ ।

संघका उपाध्यक्ष निर्मलज्योति तुलाधरले आफू र आफ्ना परिवारका सदस्यका नाउँमा खोलेका कम्पनी मार्फत विभिन्न संघ र महासंघको नाउँमा सिफारिस लिने गरेको दावी संघका वरिष्ठ उपाध्यक्ष तथा छानवीन समितिका संयोजक नरेन्द्र कुमार गुप्ताको छ ।

तुलाधरलाई कोटाको सुन दुरुपयोग गर्न संघका अध्यक्ष सुमनमान ताम्राकारले भूमिका खेलेको आरोप गुप्ताको छ । निर्मलज्योति तुलाधर र अध्यक्ष सुमनमान ताम्राकार व्यापारीक साझेदार भएकोले दुवै जना मिलेर कोटा सिफारीसबाट लिएको सुन दुरुपयोग गर्दै आएको भनाई गुप्ताको छ ।

पछिल्लो पटक सुन दुरुपयोगमा संघका अध्यक्ष सुमनमान ताम्राकार र उपाध्यक्ष निर्मलज्योति तुलाधर प्रमुख जिम्मेवार रहेको संघका अन्य पदाधिकारीको भनाई छ । नेपाल रत्न तथा आभुषण संघमा यिनै पदाधिकारीको मिलेमतोमा वास्तवीक गहना व्यवसायीलाई सुन नदिएर भारत तस्करी भएको आरोप गुप्ताले लगाउदै आएका छन् ।

पाँच बर्ष अघि छानवीन समितिले औल्याएको बिषयलाई समयमा हल गर्न नसक्दा नेपाल रत्न तथा आभुषण संघको भविश्य के होला भन्ने अवस्था सृजना भएको व्यवसायीहरुको भनाई छ । संघले व्यवसायीको हित भन्दा तस्करको पक्षमा काम गरेको उनीहरुको बुझाई छ ।


सम्बन्धित समाचार