Logo

११ वैशाख, वीरगञ्ज । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले अत्यधिक गर्मीका कारण विश्वभरका ७० प्रतिशत श्रमिक जोखिममा पर्ने चेतावनी दिएको छ ।

आईएलओले सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वव्यापी तापक्रम बढ्दा त्यसको प्रत्यक्ष असर श्रमिकमा पर्ने र ७० प्रतिशत अर्थात् दुई अर्ब ४० करोड जना श्रमिक स्वास्थ्यको जोखिममा रहेको जनाएको हो ।

उच्च तापक्रममा काम गर्दा क्यान्सर जस्ता घातक रोगसहित अरू थुप्रै समस्या आउने आईएलओले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २०२० मा निकालेको प्रतिवेदनमा विश्वभरका पाँच प्रतिशत मजदुर जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख थियो तर अब जोखिममा पर्ने श्रमिकको सङ्ख्या ६५ प्रतिशत पुग्ने उल्लेख छ ।

यस्तै अहिले एक अर्ब ६० करोड जना कामदार कार्यस्थलको वायु प्रदूषणको जोखिममा रहेका र बर्सेनि आठ लाख ६० हजार जनाको मृत्यु यसकै कारण भइरहेको हुन सक्ने पनि खबरमा उल्लेख छ । यसैगरी छालाको क्यान्सरबाट एक वर्षमा लगभग १९ हजार जनाको ज्यान गएको हुनसक्ने उल्लेख छ ।

गर्मीको लहर, खडेरी, जङ्गलमा लागेको आगो र आँधीबेहरीका कारण कामदार धेरै प्रभावित भइरहेका छन् । जलवायु परिवर्तनको गति बढ्दै जाँदा सरकार र रोजगारदाताले कर्मचारीको सुरक्षाका लागि कानुन र नियममा सुधारसहित विभिन्न उपाय अपनाउनुपर्ने आईएलओले सुझाव दिएको छ ।

युरोपियन युनियनको जलवायु एजेन्सीका पहिलो पटक लगातार दश वटा महिनामा तापक्रमले रेकर्ड बनाएको छ ।


सम्बन्धित समाचार