Logo

३ जेठ, वीरगञ्ज । आज वैशाख शुक्ल नवमी, सीता जयन्ती  (जानकी जयन्ती) । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको छ ।

भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा पनि सम्मान गरिन्छ ।

सीता जयन्तीका अवसरमा जनकपुरको रामजानकी मन्दिरमा मेला लागेको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा जगत्जननी माता जानकीको जन्मोत्सव धुमधामका साथ मनाइँदै गरेको जनकपुरबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएका छन् । जानकी नवमीका अवसरमा जानकी मन्दिरलाई दुलहीझैँ सिँगारिएको छ । यसै अवसरमा शुक्रबार मिथिलाञ्चलमा दीपावली गरिने छ ।

देशका विभिन्न भागका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुरधाम आएका छन् । साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभायात्रा प्रारम्भ हुनेछ । जानकी मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवको नेतृत्वमा हुने शोभायात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ, साधुसन्त तथा स्थानीयवासीको सहभागिता हुनेछ ।

राष्ट्रपतिको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि राष्ट्रिय विभूति सीताबाट सबैमा प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

सीता जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको बताए ।

माता सीतालाई धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिकारूपमा लिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत माता सीताको श्रद्धा गर्ने गरिएको स्मरण गरे ।

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजा अर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ । राष्ट्रपति पौडेलले त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा गरिएको उल्लेख गरेका छन् ।

“माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरकारूपमा रहिआएको छ, जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामहरूलाई श्रद्धापूर्वक लिइने गरिएको छ”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन् ।

उनले राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामनासमेत गरेका छन् ।

 


सम्बन्धित समाचार