Logo

२८ जेठ, काठमाडौंं । नेपाल राष्ट्र बैंकको नीतिको कारण नेपालमा सुनचाँदी लगायत बहुमूल्य धातुको व्यापार संकटमा परेको छ । राष्ट्र बैंकले सुनचाँदी आयातमा कोटा प्रणाली मार्फत नियन्त्रण गरेपछि धातुको बजार संकटमा परेको व्यवसायीको भनाई छ ।

सुनचाँदीको अवैध कारोवार गर्ने माफियालाई फाइदा पुग्नेगरी राष्ट्र बैंकले कार्यविधि बनाएको छ । बहुमूल्य हिरा (डायमण्ड) आयातमा खुल्ला गरी डायमण्डमा भंसार दरवन्दी समेत १ प्रतिशत कायम गरेको छ । सरकारले सुन आयातमा २० प्रतिशत र चाँदीमा १५ प्रतिशत भंसार महशुल तोकेको छ ।

विदेशी विनिमय मुद्रा संचितीमा समस्या आउने भन्दै बहुमूल्य धातु (सुन र चाँदी) खरिदमा नेपाल राष्ट्र बैंकले कोटा प्रणाली लगाउँदै आएको छ । सुनमा कोटा लगाएर आयात गर्ने अधिकार समेत निजी क्षेत्रलाई दिएको छैन । सुनको आयात गर्ने अधिकार राष्ट्र बैंकले तोकेका बाणिज्य बैंंकहरुलाई मात्र दिएको छ ।

सुनचाँदीको तुलनामा बहुमूल्य धातुको रुपमा रहेको हिरा (डायमण्ड) आयातमा व्यापारीलाई सहुलियत दिएर सुन र चाँदीको अवैध कारोवारीलाई फाईदा पुग्ने काम राष्ट्र बैंकले गरेको छ । सुनचाँदीको कारोवार गर्ने व्यापारीले एक पटक खरिद गरेको डायमण्डलाई पटक पटक आयात गरेको देखाउदै भारत तर्फ बैधानिक रुपमा रकम पठाउने बाटो खोलिदिएको एक व्यवसायीले बताए ।

बहुमूल्य डायमण्ड आयात खुल्ला गरेर सुनचाँदी आयातमा निजी क्षेत्रलाई प्रतिवन्ध लगाएको नेपाल राष्ट्र बैंकको नीतिगत चलखेलका कारण राज्यलाई अर्बौ रुपियाँ नोक्सानी हुदै आएको व्यवसायीको भनाई छ । नेपाल राष्ट्र बैंकका उच्च तहका अधिकारीहरुले तस्कर माफियाको डिजाइनमा राष्ट्रलाई घात हुनेखालको नीतिगत निर्णय गरेको ती व्यवसायीले बताए ।

राष्ट्र बैंकले करिव ३ बर्ष अघि देखि चाँदी आयातमा निश्चित कोटा लगाउदै आएको छ । बैधानीक बाटोभएर नेपाल भित्रने चाँदीमा कोटा लगाएपछि व्यवसायीले अवैध मार्ग भएर चाँदीको कारोवार गर्दै आएका छन् । खुला सीमानाकारण भारतबाट दिनहुँ ठूलो परिमाणमा चाँदीका तयारी गहना भित्रने गरेको व्यापारीहरुको भनाई छ ।

स्रोतका अनुसार तीन बर्षअघि बार्षिक १ लाख ६७ हजार किलो चाँदी भंसारमा राजश्व तिरेर नेपाल भित्रिएको थियो । तर गत बर्ष २८ हजार किलो चाँदी मात्र बैधानीक मार्ग हुदै नेपाल भित्रिएको भंसार कार्यालयको तथ्यांकबाट प्रष्ट हुन्छ । बजारको माग अनुसार चाँदी वैधानीक मार्ग भएर आउन नसक्दा राज्यलाई बार्षिक २ अर्ब राजश्व घाटा भएको छ ।

सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरुको भनाई अनुसार नेपालमा बार्षिक रुपमा न्यूनतम २ लाख किलो चाँदीको कारोवार हुन्छ । सरकारले दुई बर्षदेखि चाँदीको आयातमा नियन्त्रण गरेपछि नेपाली बजारमा भारतबाट अवैध मार्ग हुदै चाँदीका तयारी गरगहना र कच्चामाल भित्रिने गरेको व्यवसायीहरुको भनाई छ ।

तस्करहरुको हितमा नीति बनाउने तयारी

अहिले राष्ट्र बैंकले चाँदी आयात सम्वन्धी नीतिमा पुनरावलोकन गर्ने निर्णयले चाँदीको कारोवार गर्ने व्यापारीमा नयाँ तरंग पैदा भएको छ । केही दिन अघिमात्र विराटनगरका व्यवसायी दिपक मुद्राले चाँदीको उद्योगको लागि चाँदी आयात खुला गर्ने माग पत्र गभर्नरलाई बुझाएका थिए ।

अहिले नेपाल राष्ट्र बैंकले दिपक मुद्राको विराटनगरमा रहेको टेक्नोजया उद्योगलाई आयातमा खुला गरी थोक खरिदमा काम गर्ने कम्पनीहरुलाई कोटा लगाउन खोजिएको हो कि भन्ने आशंका व्यवसायीहरुको छ । झापा दमक घर भएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र र विराटनगरका व्यवसायी दिपक मुद्रा विच पुरानो चिनजानको कारण मुद्रालाई फाइदा हुनेगरी नीति ल्याउन खोजिएको आशंका व्यवसायीहरुको छ ।

विराटनगरका व्यवसायी दिपक मुुद्राले भारतको कोलकताबाट चाँदीका तयारी गहना अवैध मार्ग भएर ल्याउने गरेको स्रोतको भनाई छ । भारतबाट तयारी सामान ल्याएर टेक्नोजया उद्योगको नाममा बजारमा पठाउने गरेको सो उद्योगका एक पूर्व कर्मचारीले जानकारी दिए ।

बहुमूल्य धातु कारोवार गर्ने व्यवसायीहरु मध्ये विराटनगरका दिपक मुद्रा चाँदीको अवैध कारोवार गर्ने व्यापारीको रुपमा चिनिन्छन् । राष्ट्र बैंकले तोकेको मापदण्ड भित्र बसेर चाँदी आयात गर्दा उद्योग चलाउन नसक्ने अवस्था रहेको मुद्राले बताए । बजारको माग अनुसार चाँदी आयात हुन नसकेको मुद्राको भनाई छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले देशको आन्तरिक मुद्रा संचितीको आधारमा बस्तुको आयात नियन्त्रण गर्ने अधिकार सरकारले नै केन्द्रीय बैंकलाई दिएको बताए । कुनै व्यक्ति विशेषलाई लक्षित गरेर राष्ट्र बैंकले नीति नबनाउने मिश्रको भनाई छ ।

नेपाल राष्ट्र बैंक विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले विदेशी मुद्रा संचितीलाई ध्यानमा राखेर बहुमूल्य धातुमा कोटा प्रणाली लगाइएको बताए ।

सुनचाँदी र हिराको अवैध व्यापारमा जिम्मेवार को ?

भंसार विभागले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा ६३ हजार ५२५ क्यारेट डायमण्ड आयात भएको देखिन्छ । उक्त परिमाणको आयातबाट २ करोड ९२ लाख ६७ हजार भंसार राजश्व संकलन भएको छ ।

विगत ५ बर्षमा नेपालमा बैधानीक मार्ग भएर झण्डै २ लाख ७१ हजार ५५५ क्यारेट डायमण्ड आयात भएको छ । डायमण्डमा भंसार महशुल १ प्रतिशत मात्र लाग्ने भएकोले नेपालमा डायमण्डको आयात बढेको देखिन्छ ।

तीन बर्ष अघि आर्थिक बर्ष २०७७÷०७८ मा ३३ हजार १११ क्यारेट मात्र डायमण्ड आयात भएको थियो । तीन बर्षको तुलनामा अहिले झण्डै शतप्रतिशतले डायमण्डको आयात बढेको देखिन्छ ।

खुला सीमाना र राज्यको गलत नीतिका कारण बार्षिक २० हजार किलो काँचो सुन अवैध मार्ग भएर नेपाल भित्रिने गरेको छ । तस्करीको कारण राज्यलाई बार्षिक ३४ अर्ब राजश्व नोक्सान हुदै आएको छ । सुनमा २० प्रतिशत भंसार राजश्व लाग्ने गरेको छ ।

भारत लगायत तेश्रो मूलुकबाट बार्षिक ३ हजार किलो सुनका तयारी गहना नेपाली बजारमा कारोवार हुनेगरेको व्यवसायीहरुको भनाई छ ।

राष्ट्र बैंकको नियन्त्रणले नेपाली बजारमा पयाप्त सुन पाँउन नसक्दा अवैध मार्ग भएर भित्रिएको सुन किन्नु परेको गुनासो व्यवसायीहरुको छ । नेपाली बजारमा बार्षिक १५ हजार किलो सुन खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यको भनाई छ ।

काठमाडौं उपत्यकामा दैनिक ३० देखि ३५ केजी सुनका गहनाको कारोवार हुनेगरेको शाक्यले बताए । बैंकले दिएको सुनले मात्र बजार थेग्न सकिदैन, शाक्यले भने “अवैध मार्ग भएर आएको सुन नलिने हो भने व्यवसाय चलाउन मुस्किल हुन्छ ।” व्यवसायीहरुको भनाई अनुसार नेपाली बजारमा बार्षिक १५ देखि १८ हजार किलो काँचो सुन र तयारी गहनाको कारोवार हुन्छ ।

राष्ट्र बैंकले तोकेकै मापदण्ड अनुसार दैनिक २० किलो काँचो सुन बैंकले आयात गर्न पाउँने छ । यसरी हेर्दा बार्षिक ७ हजार ३ सय केजी सुन बैधानी मार्ग भएर नेपाल भित्रिन सक्छ । तर भंसार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक बर्षको ९ महिनामा जम्मा २ हजार ४ सय केजी सुन मात्र बाणिज्य बैंकहरुले आयात गरेको देखिन्छ ।

सुनको कारोवार गर्ने अधिकांश व्यापारीले हुण्डीको समेत काम गर्दै आएका छन् । अवैध रुपमा नेपाल भित्राइएका काँचो सुन र तयारी गहनाको रकम हुण्डी मार्फत भुक्तानी हुने गर्दछ । भारतबाट सुन र चाँदीका गहना तथा तयारी सामान नेपाल भित्रने गरेको छ ।

हुण्डी मार्फत रकम पठाउदा राज्यका निकायले फेला पार्ने र धेरै पटक हुण्डी कारोवारमा लागेका भरियाहरु पक्राउ परेपछि डायमण्ड आयातकै नाउँमा बैधानीक मार्ग भएर रकम पठाउने गरेको न्यूरोडका एक सुन व्यवसायीले बताए ।


सम्बन्धित समाचार