Logo

२९ साउन,वीरगञ्ज । बारा र पर्सामा मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् । खेतमा मल छर्ने बेलामै अभाव भएपछि किसान चिन्तित बनेको हुन । सरकारले खेतीका लागि रसायनिक मल पर्याप्त रहेको बताइरहँदा पनि पर्सा र बाराका किसान भने सिजनमा सँधै मल अभावको सामना गर्नुपरेको गुनासो छ ।

पोखरिया नगरपालिका वडा नम्बर ५ का किसान अच्छेलाल साहले युरिया प्रति बोरा ९ सय दर भएपनि ११ सयमा खरिद गर्नुपर्ने बाध्यता रहेको बताए ।
उनले भने ‘हाम्रो वडाहरुमा करिब ३०० बोरा मलको आवश्यकता पर्छ, तर यहाँ ५० बोराको हाराहारीमा मात्रैको मलको कोटा राखिएको छ । त्यो पनि ब्ल्याकमा ।’ यो समस्याबाट साह मात्रै पीडित छैनन् । अन्य किसानको पनि उस्तै समस्या छ ।
जिराभवानी गाउँपालका वडा नम्बर २ का किसान सिपाही राउत अहिरले चाहिएको जति मल नपाएको गुनासो गरे । आफ्नो करिब पौने ५ विघा क्षेत्रफलको खेती ५ बोरा डिएपी र १५ बोरा युरिया मल चाहिने उनी बताउँछन् । तर त्यो नपाएपछि उनले डिएपी मल छिमेकीसँग र युरिया मलका लागि भने भारतीय बजार धाउनु परेको छ ।

पर्सा जस्तै बारामा पनि रसायनिक मल बिक्री गर्ने डिलर तथा सहकारीहरुमा मल नपाउने गरेको किसानको दुखेसो छ । अधिकांश सहकारीमा डिएपी समस्या नभएपनि युरिया मलको भने चरम समस्या आउने गरेको बारा करैयामाई गाउँपालिका ५ का किसान रामलाल चौधरीले गुनासो गरे ।

सरकारले कृषि सामग्री कम्पनी र साल्ट टेडिङ्ग कम्पनीमार्फत अनुदानको मलबिक्रीवितरण गर्दै आएको छ । तर कम्पनीको गोदाममा यतीबेला डिएपी मात्रै थुप्रिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले डिलरहरुले किसानलाई चाहिने बेलामा सहजै मल उपलब्ध गराउन नसकेको स्वीकारिन ।

सिजनका बेला सँधै मलको अभाव सृजना गरेर किसानलाई झुक्याउने र अल्झाउने काम हुँदै आएको उनको भनाइ छ । मलको आपूर्ति गर्ने कम्पनीहरुले सिजनमा आवश्यकता अनुसार मल उपलब्ध नगराउदा सधै हाहाकार हुने गरेको उनको बुझाइ छ ।

कति मल आउँछ बारामा ?

कृषि ज्ञान केन्द्र बाराका अनुसार बाली र सिजन अनुसार बारा जिल्लालाई वार्षिक ६१ हजार मेट्रिक टनभन्दा बढी डिएपी, युरिया र पोटाँस मलको आवश्यक छ । तर वार्षिक रुपमा करिब २८ प्रतिशत मात्रै आयात हुँदै आएको ज्ञान केन्द्र प्रमुख राजनारायण साहले जानकारी दिए ।
आर्थिक वर्ष २०७९–०८० मा मागको २०.६ प्रतिशत अर्थात १२ हजार ६२७.९५ मेटिक टन मल बारामा भित्रिएको थियो ।

गतवर्ष केही वृद्धि भएर २८ प्रतिशत पुग्दा १६ हजार २३७ मेटिक टन मल बाराका किसानले पाएको तथ्याङ्क ज्ञान केन्द्रले उपलब्ध गराएको छ । धान सबैभन्दा धेरै मलको आवश्यकता पर्ने बाली हो ।

जिल्लामा हिउँदे र वर्षे गरी दुई सिजनमा ६२ हजार २० हेक्टर जमिनमा धान खेती हुने गरेको छ । यस बालीका लागि मात्रै १५ हजार ६६ मेटिक टन युरिया, ५ हजार ३९१ मेट्रिक टन डिएपी र ४ हजार ९२ मेट्रिक टन पोटाँसको आवश्यकता रहेको ज्ञान केन्द्र प्रमुख साहले बताए ।


सम्बन्धित समाचार