Logo

७ भदौ,सेढवा । पर्साको ग्रामीण भेगमा भएको धानखेतीमा अनेक किसिमको रोग लाग्ने समस्या बढ्दै गएको छ । समयमा रासायनिक मलखाद्य नपाउने समस्याले चिन्तित किसान भने अहिले धानबालीमा लागिरहेको रोगमा त्रसित बनेका छन् ।

जिल्लाको आधा दर्जन गाउँपालिकामा भएको धान खेतीमा रोग लागेको बताइन्छ । ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनीसहितका गाँउपालिकामा लगाइएका धानबालीमा रोग लागेका स्थानीय किसान बताउँछन् ।
यो वर्ष लगाइएका धानबालीमध्ये खासगरी सोना मंसुली, भदई मंसुली , मनी मंसुली तथा हर्दिनाथ – १ जातका बालीमा रोग लागेका छन।

जिराभवानी गाउपालिका वडा नं ३ नौकाटोलाका किसान रामायण महतोले बालीमा रोग लागेर जरा कुहिदै गएको सुनाउँछन् । उनका अनुसार जरा कुहिएर बिरुवाको पात पहेलो भइ सुकिरहेको छ , जसलाई गाउँघरको भाषामा‘सरलदाहवा रोग भनिन् छ ।

अघिल्लो वर्षसम्ममा यो रोग सोना मंसुली जातको बालीमा लाग्ने गरेको बताइन्छ । तर योपटक अन्य प्रजातीको बालीमासमेत असर पु¥याएको महतो सुनाउँछन् । रोकथामका लागि किटनाशक औषधी छरेपनि प्रकोपमा कमी नआएको उनी बताउँछन् ।

सारो तथा हर्दिनाथ –१ जातको धानबालीमा पनि रोग लागेर धानको टुपो सुक्न थालेको जगरनाथपुर गाउँपालिका ३ निवासी गुलाब प्रसाद यादवले बताए । बिरुवा हरियो भएपनि बाला निस्किने भाग नै सुकेपछि बाली नै नष्ट हुने समस्याले बढ्दै गएको उनको भनाइ छ । रोपाई भएको दुई साता नबित्दै बालीमा रोग लाग्न थालेको उनको भनाइ छ ।

अर्का किसान ठोरी गाउपालिका ५ गडुवालाइनका देवी प्रसाद दहालले कहिल्यै नलाग्ने रोग यो वर्षमा समस्या बनेको बताउँछन् । उनका अनुसार दुई साता अगाडी मात्रै सरलदवा लागेको हो, अहिले किटनाशक औषधीको प्रयोगले केही हदसम्म रोग नियन्त्रणमा आएको देखिन्छ ।

तर कृषि प्राविधिकहरुले यो रोग समयमा औषधी लगाइयो भने नियन्त्रणमा आउन सक्ने दाबी गरिरहेका छन् ।

जिराभवानी गाँउपालिकाका कृषि प्राबिधिक क्षत्रबहादुर गुप्ताले सो रोगको किटनाशक औषधी समयमा दुई पटकसम्म छर्दा प्रकोप हट्ने दाबी गर्छन् । तर औषधीसंगै किसान खेती गर्दा रोपाईमा ग्यापिङ्ग, समयसमयमा झारपात हटाउने, बालीमा निरन्तर पानी नराख्ने र समय समयमा जमिन सुख्खा राख्नु पर्नेतर्फ ध्यान दिन जरुरी रहेको उनको सुझाव छ ।

 


सम्बन्धित समाचार