Logo

२ वैशाख, काठमाडौं । विद्यालय शिक्षा ऐनको मागसहित जारी आन्दोलनलाई सशक्त बनाउँदै नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार जारी विज्ञप्तिमार्फत महासंघले आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा बहिष्कार गर्ने घोषणा गरेको हो ।

सरकारले नयाँ शैक्षिक सत्रसँगै विद्यार्थी भर्ना अभियान सुरु गरे पनि महासंघले विद्यालय बन्द गर्ने अडान कायम राखेको छ । शिक्षा प्रणालीमा संरचनागत सुधार र शिक्षकका हक अधिकार सुनिश्चित गर्न ऐनको आवश्यकतामा जोड दिँदै महासंघले २० चैतदेखि देशव्यापी सडक आन्दोलन गर्दै आएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सबै शिक्षक, प्रधानाध्यापक र कर्मचारीलाई आन्दोलनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।  आन्दोलनको प्रभावकारीता सुनिश्चित गर्न निरीक्षण र अनुगमन टोली पनि गठन गरिएको जनाइएको छ ।

महासंघको यो निर्णयसँगै परीक्षाको सञ्चालनमा अन्योल सिर्जना भएको छ भने विद्यार्थी र अभिभावक चिन्तित बनेका छन् । शिक्षा मन्त्रालयले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।


सम्बन्धित समाचार