Logo

८ बैशाख, वीरगञ्ज । सरकारले सामाजिक सञ्जाललाई कानुनी दायराभित्र ल्याउने उद्देश्यले तोकेको दर्ता समयसीमा बैशाख ७ गते सकिएको छ । तर तोकिएको म्यादसम्म पनि अधिकांश चर्चित सामाजिक सञ्जाल प्लेटफर्महरूले अझै नेपालमा दर्ता प्रक्रिया पूरा गरेका छैनन् ।

‘सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८०’ अनुसार, नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल तथा एपहरूलाई सूचना तथा प्रविधि मन्त्रालयमा अनिवार्य रूपमा दर्ता गरिनुपर्ने व्यवस्था गरिएको छ । यसैअनुसार, २०८१ चैत ७ गते मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै सूचीकृत नभएका प्लेटफर्मलाई २०८२ बैशाख ७ गतेसम्म दर्ता हुन अन्तिम समयसीमा दिएको थियो ।

मन्त्रालयले दिएको जानकारी अनुसार, हालसम्म टिकटक, भाइबर र वीच्याट मात्र नेपालमा सूचीकृत भएका छन् । यि बाहेक, सर्वाधिक प्रयोगमा रहेका फेसबुक, इन्स्टाग्राम, एक्स (पूर्व ट्विटर), र वाट्सएप जस्ता प्लेटफर्महरू अझै दर्ता बाहिर नै रहेका छन् ।

यी प्रमुख प्लेटफर्महरू सञ्चालन गर्ने कम्पनी मेटालाई मन्त्रालयले दुई–दुई पटक औपचारिक पत्राचार गरेर दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरिसकेको छ । यद्यपि अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

समयसीमा सकिएपछि अब सरकारले दर्ता नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नियमन गर्ने तयारी थालेको छ । मन्त्रालय स्रोतका अनुसार, आगामी दिनमा नियम उल्लंघन गर्ने प्लेटफर्महरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने छ ।

यस दर्ता प्रक्रियामार्फत सरकारले सामाजिक सञ्जाल प्रयोगमा पारदर्शिता, उत्तरदायित्व र सूचना सुरक्षाको ग्यारेन्टी गर्ने अपेक्षा राखेको छ । डिजिटल युगमा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गइरहेका बेला यो कदम डिजिटल सुशासन र सुरक्षित साइबर वातावरण निर्माणतर्फको सार्थक पहल मानिएको छ ।


सम्बन्धित समाचार