
१७ वैशाख, काठमाडौं । शिक्षकहरूको माग सम्बोधनका लागि सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच भएको वार्ता सकारात्मक दिशामा अघि बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार शिक्षकसँगको संवाद सहमतिको दिशातर्फ उन्मुख छ र यथासक्य छिटो निष्कर्षमा पुर्याउने प्रयास भइरहेको छ ।
हिजो राति प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित वार्ता साँझ ८ बजे शुरू भई साढे १० बजेसम्म चलेको थियो । वार्तामा शिक्षामन्त्री पन्तसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकको पनि सहभागिता रहेको थियो । शिक्षक महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।
सरकार र महासङ्घबीचको छलफल आज पुनः जारी रहनेछ। शिक्षक महासङ्घले लामो समयदेखि उठाउँदै आएका मागहरूबारे गम्भीर रूपमा छलफल भइरहेको र वार्ताको परिणाम सकारात्मक हुने विश्वास व्यक्त गरिएको छ ।
गत चैत २० गतेदेखि शिक्षक संगठनहरूले आफ्ना विभिन्न मागहरू अघि सार्दै आन्दोलन शुरू गरेका छन् । आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित हुँदै आएको छ । शैक्षिक सत्र २०८२ को सुरुवातमै पढाइ अवरुद्ध हुँदा विद्यार्थी र अभिभावक चिन्तित छन् ।
सरकार र शिक्षकबीचको संवाद निरन्तर जारी रहँदा समाधानको आशा बढेको छ। दुबै पक्षले सहमतिको वातावरण बनाउन प्रतिबद्धता व्यक्त गर्दै वार्तालाई सफल बनाउने अठोट दोहोर्याएका छन् ।