प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ भदौ, काठमाडौं । युक्रेनको आकाशमा फेरि एकपटक मृत्युको कालो बादल मडारिएको छ।

युद्धको अन्धकारमा डुबेको यो देशले बिहीबार अर्को दर्दनाक प्रहार खेपेको छ। शान्ति वार्ताको चर्चा चलिरहेकै बेला रूसले युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्र प्रहार गरेको छ। यस आक्रमणले ४ जना बालबालिकासहित २१ जनाको ज्यान लिएको छ, र ४५ जना घाइते भएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइले युद्धको वास्तविकतालाई थप उजागर गर्छ, ‘रूसले शान्ति होइन, मिसाइल रोजेको छ।’’ यो आक्रमणले किभमा रहेको ब्रिटिश काउन्सिलको कार्यालय र युरोपेली संघका भवनहरूमा पनि ठूलो क्षति पुर्‍याएको छ। बेलायत र युरोपेली संघले यसको कडा निन्दा गर्दै रूसी राजदूतहरूसँग स्पष्टीकरण मागेका छन् ।

यसैबीच, अमेरिकी सांसद लिन्डसे ग्राहामले यस दुःखद घटनालाई लिएर भारतमाथि कडा प्रश्न उठाएका छन्। उनले भारत, चीन र ब्राजिलजस्ता देशहरूले रूसबाट सस्तो तेल किनेर पुटिनको युद्ध मेसिनलाई बल पुर्‍याइरहेको आरोप लगाएका छन्। ग्राहामले सामाजिक सञ्जाल एक्स’ मा लेखेका छन्, ‘‘तपाईंहरूको खरिदका कारण निर्दोष मानिसहरूको ज्यान गइरहेको छ, तीमध्ये बच्चाहरू पनि छन्। भारतले पुटिनलाई समर्थन गर्ने मूल्य तिरेको छ। बाँकी देशहरूको पालो पनि छिट्टै आउनेछ।’’


सम्बन्धित समाचार