Logo

१३ भदौ, काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो पहिलो महाधिवेशनको मिति तय गरेको छ ।

पार्टीको शीर्ष नेताहरूको बैठकले आगामी चैत ६ र ७ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । २०७८ भदौमा स्थापना भएको लोसपाले यस वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने कानुनी प्रावधानअनुसार यो निर्णय गरेको हो । यसका साथै, लोसपाले तराई–मधेसका समसामयिक समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीको बैठकले खडेरीका कारण प्रभावित भएका किसानहरूका लागि क्षतिपूर्तिको प्याकेज घोषणा गर्न संघ र प्रदेश सरकारलाई माग गरेको छ।

त्यस्तै, तराईमधेसका जिल्लाहरूमा बढ्दो लुटपाट, चोरी, डकैती र हत्याका घटनाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई जनताको सुरक्षा प्रत्याभूत गर्न आग्रह गरेको छ। दीर्घकालीन रूपमा चुरे क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्न पनि तीनै तहका सरकारलाई लोसपाले आग्रह गरेको छ।


सम्बन्धित समाचार