१३ भदौ, वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले आज वीरगन्जस्थित नारायणी अस्पतालमा हैजा संक्रमित बिरामीहरूसँग भेटघाट गरेका छन् ।
पर्सामा हैजाको संक्रमण बढ्दै गएपछि सर्वसाधारणको अवस्थाबारे जानकारी लिन उनी वीरगन्ज आइपुगेका हुन् । महामन्त्री थापाले अस्पतालको आकस्मिक कक्षमा उपचाररत बिरामीहरूसँग भेटेर उनीहरूलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्। उनले सरकारलाई हैजा प्रभावित क्षेत्रका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह पनि गरेका छन् ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार, थापाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी हैजाको खोप उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन् । साथै, उनले अस्पतालको क्षमता ५०० शय्यामा विस्तार गर्न पहल गर्ने बताएका छन् ।















