Logo

१३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी हितविपरीतका गतिविधिमा संलग्न भएको आरोपमा थप ८ जना नेतालाई स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

पार्टीको युवा संगठनको काठमाडौं र सुर्खेतमा भएका विवादित गतिविधिहरूपछि यो कदम चालिएको हो ।

काठमाडौंको विवाद

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशनमा हुलदंगा गरेको भन्दै चार जना नेतालाई स्पष्टीकरण सोधिएको छ । उनीहरूले पार्टीभन्दा बाहिरका व्यक्तिहरूलाई ल्याएर अधिवेशन बिथोल्ने प्रयास गरेको आरोप लागेको छ । कारबाहीको दायरामा रहेकाहरूमा केन्द्रीय सहायक प्रवक्ता प्रविण थोकर तामाङ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा, काठमाडौं ४ का अध्यक्ष रिद्धिप्रताप राणा र युवा संगठनका नेता ज्योति लामा रहेका छन् । उनीहरूले स्पष्टीकरण बुझाइसकेकाले अनुशासन समितिले कारबाहीको निर्णय गर्ने तयारी गरेको छ ।

सुर्खेतमा तालाबन्दीको आरोप

यसैगरी, सुर्खेतको पार्टी कार्यालयमा तालाबन्दी गर्न उक्साएको आरोपमा अन्य चार जना नेतामाथि पनि कारबाही प्रक्रिया सुरु गरिएको छ  । अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरीको गृहजिल्लामा पार्टी कार्यालय तालाबन्दी भएको थियो । यस घटनामा केन्द्रीय सदस्य जनक सिंह र भिमबहादुर शाही, युवक संगठनका नेता प्रेम बिसी र लक्ष्मी कुमारी सार्की लाई स्पष्टीकरण सोधिएको छ ।


सम्बन्धित समाचार