१३ भदौ, काठमाडौं । सर्वोच्च अदालतको फैसलाले गण्डकी प्रदेशसभा सदस्यबाट दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएपछि निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ (खं) मा उपनिर्वाचनको मिति तोकेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, रिक्त भएको उक्त पदमा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गत असार ४ गते मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गर्दै सांसद पदका लागि अयोग्य भएको फैसला सुनाएको थियो। उनले विवरण लुकाएर सांसद बनेको अदालतको पूर्णपाठमा उल्लेख छ।















