१४ भदौ,वीरगञ्ज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरूलाई आत्मविश्वासी बनेर समाजलाई सकारात्मक ढंगले चुनौती दिँदै परिवर्तनको नेतृत्व लिन आह्वान गरेकी छन्। वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आयोजित ‘बृहत महिला सम्मेलन–२०८२’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महिलाको उद्यमशीलता देशको आर्थिक समृद्धिसँग गाँसिएको बताइन्।
“महिलाको अग्रसरता सिंगो राष्ट्रको हित”
वीरगञ्जजस्तो व्यापारिक केन्द्रमा महिलाको सक्रिय सहभागिता केवल व्यक्तिगत सफलता नभई सिंगो देशको अर्थतन्त्र बलियो बनाउने प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै भण्डारीले भनिन्, “महिला उद्यमशीलतालाई सम्मान गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ र आगामी पुस्तालाई प्रेरणा दिनेगरी अघि बढ्नुपर्छ।”
समाजमा अझै कायम रहेका लैंगिक असमानता, पूर्वाग्रह र अवरोधहरूबारे टिप्पणी गर्दै उनले महिलाहरूलाई ती संरचनालाई तोड्ने आत्मबल आवश्यक रहेको बताइन्। “परिवर्तन आफैंबाट सुरु हुन्छ,” भन्दै भण्डारीले महिलालाई नेतृत्वदायी भूमिकामा अघि सर्न आग्रह गरिन्।
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महिलाको भूमिका
नेपालको समृद्धिको बाटो प्राकृतिक स्रोत, जनशक्ति र सांस्कृतिक विविधताको विवेकपूर्ण उपयोगमा रहेको उल्लेख गर्दै उनले स्वदेशी उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा महिलाको भूमिका महत्वपूर्ण हुने बताइन्। कृषिमा आधारित उद्योग, जडिबुटी, आयुर्वेद, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन आवश्यक रहेको उनले औंल्याइन्।
परिवारदेखि उद्योग, शिक्षा, स्वास्थ्य र सामाजिक परिवर्तनसम्म महिलाको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले त्यो योगदानलाई अझै पर्याप्त सम्मान प्राप्त नभएको टिप्पणी गरिन्। “अब महिलाहरू नेतृत्व गर्न, उद्यम सञ्चालन गर्न र समाज परिवर्तन गर्न सक्षम छन् भन्ने अवस्थाको निर्माण गर्नुपर्छ,” पूर्व राष्ट्रपतिको भनाइ थियो।
सम्मेलनबाट नयाँ स्वरको शुरुवात हुने विश्वास
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नारीहरू अझै पनि विविध कठिनाइ र विभेदको सामना गरिरहेको उल्लेख गर्दै यो सम्मेलनले उनीहरूको आवाज बुलन्द गराउने विश्वास व्यक्त गरे। “एउटा आशा र भरोसाको दियो आज बाल्ने प्रयास गरेका छौँ,” उनले भने।
संघको महिला उद्यमशीलता विकास समितिकी सभापति डा. लक्ष्मी गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पुर्याएका २५ जना महिलाहरूलाई प्रमुख अतिथि भण्डारीले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिन्।
यो सम्मेलनले महिला नेतृत्व, उद्यमशीलता र समान अवसरप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्दै भविष्यमा नीति निर्माणका लागि सशक्त सन्देश दिएको आयोजकको विश्वास छ।















