प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा हैजाबाट पर्साको वीरगञ्जमा ३ जनाको मृत्यु भएको भनी दिएको जानकारी भ्रमपूर्ण भएको पुष्टि भएको छ। प्रधानमन्त्रीले शुक्रबार संसदलाई दिएको विवरणसँग विपरित, पर्साका स्थानीय प्रशासन, स्वास्थ्य कार्यालय र अस्पतालले हैजाबाट कुनै मृत्यु नपुगेको स्पष्ट पारेका छन्।

संसदमा प्रधानमन्त्रीको दाबी

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले वीरगन्जमा फैलिएको कलेरा (हैजा) महामारीका कारण तीन जनाको मृत्यु भएको दाबी गरेका थिए। “अहिलेसम्म जम्मा ६२४ जनामा कलेरा सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये ४३७ जना निको भइसकेका छन् र ३ जनाको निधन भएको छ,” प्रधानमन्त्रीको भनाइ थियो।

वीरगन्ज महानगरपालिका, पर्साका प्रमुख जिल्ला अधिकारी, नारायणी क्षेत्रीय अस्पतालका प्रमुख, स्वास्थ्य कार्यालय पर्सा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) — सबै निकायले हैजाबाट कुनै पनि मृत्यु नपुगेको बताएका छन्।

महानगर प्रमुख राजेशमान सिंहले हैजाबाट मृत्युको कुनै जानकारी नरहेको बताउँदै प्रश्न उठाए — “सम्माननीय प्रधानमन्त्रीज्यूलाई यस्तो गलत तथ्य कसले दियो?”

नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासले पनि अस्पतालमा हैजाबाट मृत्यु भएको कुनै प्रमाण नरहेको बताए। “एक जना ब्रिङ–डेड अवस्थामा ल्याइएका थिए, तर हैजा पुष्टि भएको थिएन,” उनले बताए।

स्वास्थ्य कार्यालयको पनि उस्तै प्रतिक्रिया

स्वास्थ्य कार्यालय पर्साका प्रमुख जयमोद ठाकुरले पनि हैजाबाट कसैको मृत्यु नभएको बताए। “हामीले यसअघि नै मिडियालाई जानकारी गराइसकेका छौं,” उनले भने। स्वास्थ्य मन्त्रालय मातहतको EDCD को वेबसाइटमा पनि हैजाबाट मृत्युको कुनै तथ्याङ्क नरहेको उनले बताए।

‘ब्रिफिङ कसले गर्‍यो?’ भन्ने प्रश्न

प्रधानमन्त्रीलाई गलत विवरण कसले दियो भन्ने प्रश्नले अहिले चासोको विषय बनिरहेको छ। न त स्थानीय प्रशासन, न स्वास्थ्य संस्था, न संघीय निकायले हैजाबाट मृत्यु पुष्टि गरेका छन् — यस्तोमा प्रधानमन्त्रीकै भनाइ संसदमा कसरी गयो भन्नेबारे छानबिन हुनुपर्ने माग उठ्न थालेको छ।


सम्बन्धित समाचार