Logo

२३ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत ठगीका घटना बढ्दै गएको भन्दै व्यापारीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार केही व्यक्तिहरूले प्रतिष्ठित व्यावसायिक संस्थाहरूको नक्कली बिल–भौचर तयार गरी सिमेन्ट, छड, मदिरा, मोटर पार्ट्सलगायतका सामग्री ठगी गर्ने घटना दोहोरिँदै आएको पाइएको छ।

यसै सन्दर्भमा प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै कुनै पनि व्यापारिक कारोबार गर्दा पूर्ण रूपमा एकिन भएपछि मात्र कारोबार गर्न व्यवसायीहरूलाई अनुरोध गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “आधिकारिकता विनाका कुनै सामानहरू खरिद नगर्नुहोस्, अन्यथा प्रचलित कानुनअनुसार कारबाही हुनेछ।”

प्रहरीले ठगीमा संलग्न समूहको खोजी तीव्र गतिमा भइरहेको बताउँदै, व्यापारी तथा सर्वसाधारणलाई यस्ता गतिविधिबाट सावधान रहन र शंकास्पद व्यवहार देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।


सम्बन्धित समाचार