२८ कात्तिक, काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्दा बारम्बार सर्भर अवरुद्ध हुने समस्याप्रति गम्भीर ध्यान आकृष्ट गराउँदै निर्वाचन आयोगलाई आवश्यक प्राविधिक सुधार गर्न आग्रह गरेकी छन्।
शुक्रबार प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोनमार्फत सम्पर्क गरी अनलाइन सेवामा देखिएको अवरोधले सर्वसाधारण प्रभावित भएको बताउँदै समस्या तत्काल समाधान गर्न अनुरोध गरेकी हुन्।
निर्वाचन आयोगले राष्ट्रिय परिचय पत्र बनाइसकेकाहरूको हकमा अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्ने व्यवस्था सुरु गरेपछि एकैपटक आवेदनको चाप अत्यधिक बढेको छ।
उच्च चापका कारण सर्भर बारम्बार अवरुद्ध भई सेवाग्राहीले समयमै आवेदन दर्ता गर्न मुस्किल भएको गुनासो बढेपछि प्रधानमन्त्रीले यसबारे चासो देखाएकी हुन्।
यसअघि आयोगका कार्यालयहरूमा प्रत्यक्ष दर्ताको भीड बढेपछि प्रक्रिया सहज बनाउन अनलाइन पोर्टल सञ्चालन गरिएको थियो। तर पोर्टलमा पनि अवरोध बढेपछि हजारौँ सेवाग्राहीले समस्या झेलिरहेका छन्।
टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले सर्भर समस्या समाधानका साथै नाम दर्ताको समयावधि थप्न पनि आग्रह गरेकी छन्।प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार आयुक्त भण्डारीले नाम दर्ता समय सीमा पाँच दिन थप गर्न सकिने जानकारी प्रधानमन्त्रीलाई दिएका छन्।
हाल आयोगले मतदाता नामावली दर्ताको अन्तिम समय सीमा ३० कात्तिकसम्म तोकिएको छ।तर आवेदनको चाप, अनलाइन सेवा अवरोध तथा प्रधानमन्त्रीको आग्रहलाई ध्यानमा राख्दै आयोगले पाँच दिन म्याद थप गर्ने अन्तिम तयारी गरिरहेको आयोग स्रोतले जनाएको छ।

















