Logo

Screenshot

४ मंसिर,वीरगञ्ज ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराचोकमा बुधबार भएको झडप प्रकरणमा दुई वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। युवा संघ र जेन–जी समूहबीच अचानक भएको भिडन्तपछि क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये जितपुरसिमरा–२ का ४० वर्षीय वडाध्यक्ष धनबहादुर श्रेष्ठ र जितपुरसिमरा–६ का ३४ वर्षीय वडाध्यक्ष कैमुद्दिन अन्सारी छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले दुवै जनप्रतिनिधि घटनामा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको बताए।

झडपमा सम्राट (साइकुल) उपाध्याय घाइते भएका थिए। उनले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको भन्दै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी दर्ता गरेका छन्। जाहेरी दर्तासँगै प्रहरीले घटनामा जनप्रतिनिधिसहित अन्य व्यक्तिहरू संलग्न हुन सक्ने भन्दै अनुसन्धान विस्तार गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाद्वयको प्रारम्भिक बयानको प्रक्रिया अघि बढाइएको छ। “दुवै स्थानीय तहका जिम्मेवार पदाधिकारी भएकाले उनीहरूको भूमिकाबारे थप गम्भीर रूपमा अनुसन्धान गरिँदैछ,” एसपी तामाङले बताए।

यसैबीच, अन्य व्यक्तिहरू पनि घटनामा संलग्न हुन सक्ने आशंकामा पहिचान र वास्तविक कारण पत्ता लगाउने प्रक्रिया तीव्र पारिएको छ।

घटनापछि सिमराचोक क्षेत्रमा स्थानीयबासीबीच सुरक्षा प्रति चासो बढेको छ। प्रहरीले अफवाहमा नपर्न, विवाद नबढाउन र अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको छ।


सम्बन्धित समाचार