१९ फागुन,वीरगञ्ज । रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ चिल्मिलियामा गएराति लुटपाट गर्न खोजेको आरोपमा दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल का सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी रहेका छन्। लुटपाटमा संलग्न तीन जनामध्ये एक जना भने फरार रहेको उनले जानकारी दिए।
दुवै जनालाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुर को स्ट्राइकिङ टोलीले नियन्त्रणमा लिएको डीएसपी थापाले बताए।
उनीहरूले रौतहटकै राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र उनकी श्रीमती चञ्चला यादव सवार मोटरसाइकल रोकेर चञ्चलाले लगाएको गहना लुट्ने प्रयास गरेको आरोप छ। घटनापछि सशस्त्र प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

















