प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० फागुन, वीरगञ्ज । कार्यकर्ता भेटघाटमा निस्किएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार राति करीब ११ बजे पर्सागढी नगरपालिका वडा नम्बर ३, बढनिहार चोकमा सुरक्षा जाँचका क्रममा उनीहरू सवार बा १० च १२५० नम्बरको रातो कारबाट शंकास्पद वस्तु बरामद भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

के भएको थियो घटना ?

प्रहरीका अनुसार मौन अवधिमा उम्मेदवार चौधरी आफ्ना कार्यकर्ता भेट्न जाँदै गर्दा नियमित चेकजाँचमा परेका थिए । चेकजाँचका क्रममा कारको पछाडिको डिकीमा ‘शंकास्पद वस्तु’ फेला परेको थियो। उक्त वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको टोलीलाई बोलाइएको छ । हाल उक्त सवारी साधन सेनाको सुरक्षा घेरामा छ भने उम्मेदवारसहितका व्यक्तिहरू प्रहरी हिरासतमा छन् ।

प्रहरीले उम्मेदवार चौधरीसँगै गाडीमा सवार अन्य चार जनालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सत्यनारायण चौधरी, रामेश्वर मण्डल, सुरज कार्की र वीरगञ्ज छपकैया निवासी चालक मुन्ना अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

नेकपा नेता वृजलाल पासवानले घटनाबारे टिप्पणी गर्दै डिकीमा के थियो भन्नेबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् । उनले भने, “प्रहरीले सुरक्षाको दृष्टिकोणले नियन्त्रणमा लिएको भए त्यो स्वाभाविक हो, तर यदि निर्वाचन बिथोल्ने मनसायको आरोप लगाएर पक्राउ गरिएको हो भने त्यो गलत र निन्दनीय छ।”

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । शंकास्पद वस्तुको प्रकृतिबारे सेनाको डिस्पोजल टोलीले जाँच गरेपछि मात्र थप विवरण खुल्ने प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार