२० फागुन, महोत्तरी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री-वितरणमा प्रतिबन्ध लगाइएकै समयमा महोत्तरी प्रहरीले एक इँटाभट्टाबाट ठूलो परिमाणमा मदिराजन्य पदार्थ बरामद गरेको छ । जिल्लाको भंगहा नगरपालिका-५, ढकिया टोलस्थित रहेको इँटाभट्टामा लुकाइछिपाइ राखेको अवस्थामा विभिन्न ब्राण्डका मदिरा फेला परेको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त स्थानबाट ३ कार्टुन अर्ना बियर, ७ कार्टुन कर्णाली गोल्ड, ३ कार्टुन ब्रिक्स वाइन र १७ बोतल ब्ल्याक ओके बरामद गरेको छ ।
निर्वाचनलाई सभ्य, सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले फागुन १४ गतेदेखि नै मदिराको बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको थियो। प्रशासनको उक्त आदेश उल्लंघन गर्दै भण्डारण गरिएको मदिरा फेला परेपछि प्रहरीले बरामद गरेको हो ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार मतदानको पूर्वसन्ध्यामा २५० भन्दा बढी मजदुर कार्यरत रहेको इँटाभट्टामा यति ठूलो परिमाणमा मदिरा भेटिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । “अहिले चुनावलाई लक्षित गरी मदिरा निषेध गरिएको छ, तर यति ठूलो परिमाणमा मदिरा भेटिनुले निर्वाचन प्रभावित पार्ने आशंका जगाएको छ,” ती अधिकृतले भने । यद्यपि, बरामद स्थलमा कुनै पनि राजनीतिक दलको झण्डा वा चुनावी सामग्री भने फेला नपरेको प्रहरीले स्पष्ट पारेको छ । बरामद गरिएका मदिराजन्य पदार्थलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर थप कानुनी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

















