Logo

८ वैशाख, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो टी-२० अभ्यास खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ६ विकेटले पराजित भएको छ। वर्षाका कारण खेलको निर्धारित ओभर घटेपछि नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य युएईले ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को तयारीका लागि खेलिएको यस शृंखलाको पहिलो खेलमा वर्षा बाधक बन्दा नेपालले आफ्नो लय गुमाएको थियो। वर्षाका कारण १० ओभरमा सीमित खेलमा युएईका कप्तान मोहम्मद वासीमले आक्रामक सुरुआत गरेका थिए ।

उनले डेब्यू खेलाडी हेमन्त धामीको पहिलो ओभरमै २० रन प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए। १५ बलमा ३३ रन बनाएका वासीमको इनिङ्स नै युएईको जितको आधार बन्यो ।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। उनले ८ रन खर्चिएर ३ विकेट लिए पनि अन्य बलरबाट गतिलो साथ नपाउँदा नेपालले हार बेहोर्नुपर्‍यो ।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले १८.५ ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । सोही अवस्थालाई आधार मानेर खेल १० ओभरमा झारिएको थियो ।

ब्याटिङतर्फ नेपालको सुरुआत निकै निराशाजनक रह्यो । अर्जुन साउद (१३), सन्दीप जोरा (६), कुशल भुर्तेल (१६) र कुशल मल्ल (१७) ले दोहोरो अंक जोडे पनि टोलीले निरन्तर विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन ।

कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३२ रन जोडे पनि अन्य ब्याटरले साथ दिन नसक्दा नेपालको इनिङ्स धरमराएको थियो। युएईका लागि बलिङमा जुबइरले ३ विकेट लिएका थिए ।

नेपालले केही दिनभित्रै आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज आयोजना गर्दै छ । ओमान, युएई, अमेरिका र स्कटल्यान्डसँगको महत्वपूर्ण सिरिजअघि यो टी-२० सिरिजलाई नेपालले तयारीको रूपमा लिएको छ। दुवै टोलीबीचको दोस्रो खेल आज मंगलबार हुनेछ ।


सम्बन्धित समाचार