९ बैशाख, काठमाडौं । नेपाल सरकारले सीमानाकामा १०० रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार महसुल लगाउने नियमलाई कडाइका साथ लागू गरेपछि सुदूरपश्चिमका सीमावर्ती भारतीय बजारहरूमा नेपाली ग्राहकको उपस्थिति ह्वात्तै घटेको छ ।
विशेषगरी कैलाली र कञ्चनपुरका प्रमुख नाकाहरू त्रिनगर र गड्डचौकी भएर किनमेलका लागि भारत जाने नेपालीहरूको सङ्ख्यामा करिब ८० प्रतिशतले गिरावट आएको प्रशासनले जनाएको छ ।
विगतमा घरायसी प्रयोजनका लागि भन्दै भन्सार नतिरी सामान ल्याउन पाउने सुविधाको दुरुपयोग हुने गरेकोमा अहिले थोरै मूल्यको सामानमा पनि कर तिर्नुपर्ने झन्झटले गर्दा सर्वसाधारणहरू भारतीय बजार जान छाडेका हुन् ।
कञ्चनपुरको डोकेबजारका व्यापारी विमल चौधरीका अनुसार धनगढी र अतरिया क्षेत्रका स्थानीयहरू पहिले सस्तो सामानको खोजीमा भारतीय सहर बनगाउँ र पलियासम्म पुग्ने गरे पनि अहिले भन्सारको कडाइका कारण त्यो क्रम रोकिएको छ ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले गौरीफन्टा नाका भएर सामान ल्याउने क्रममा उल्लेख्य कमी आएको र यसले स्थानीय बजारलाई राहत पुगेको बताइन् ।
तर, सर्वसाधारणको भीड घटे पनि सङ्गठित रूपमा सामान ओसार्ने ‘क्यारिङ’ समूह भने अझै पनि सक्रिय रहेको पाइएको छ । आर्थिक अवस्था कमजोर भएका केही व्यक्तिहरूले व्यापारीको सामान भन्सार छलेर ल्याउने कामलाई निरन्तरता दिइरहेकाले प्रशासनले नाकामा २४ सै घण्टा निगरानी बढाएको छ ।

















