Logo

९ वैशाख,वीरगञ्ज । डिभिजन वन कार्यालय बारा ले जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकामा भइरहेको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननप्रति गम्भीर चासो व्यक्त गरेको छ।

कार्यालयले दुवै स्थानीय तहलाई पत्र पठाउँदै वातावरणीय परीक्षण बिना वा स्वीकृत प्रतिवेदनको कार्यान्वयन नगरी भइरहेको उत्खनन कार्यप्रति ध्यानाकर्षण गराएको हो। प्राप्त जनगुनासोका आधारमा नदीजन्य पदार्थ संकलन तथा उत्खननबारे निगरानी बढाइएको जनाइएको छ।

वन क्षेत्रभित्र ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्नुअघि अनिवार्य रूपमा वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गराउनुपर्ने व्यवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ। विशेषगरी संक्षिप्त वातावरणीय अध्ययन (IEE) वा प्रारम्भिक वातावरणीय परीक्षण नगरी कुनै पनि उत्खनन कार्य सञ्चालन नगर्न कडा निर्देशन दिइएको छ।

कार्यालयका अनुसार ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ ले वन तथा चुरे क्षेत्रबाट अनियन्त्रित उत्खननमा रोक लगाएको छ। अत्यावश्यक अवस्थामा समेत स्वीकृत वातावरणीय प्रतिवेदनका आधारमा मात्र उत्खनन गर्न पाइने प्रावधान रहेको उल्लेख गरिएको छ।

यसैगरी, राष्ट्रिय वन क्षेत्रभित्र पर्ने यस्ता आयोजनाहरूको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने अधिकार मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय सँग रहेको जनाइएको छ। त्यसैले स्थानीय तहहरूले प्रतिवेदन तयार गरी सम्बन्धित मन्त्रालयबाट स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

डिभिजन वन अधिकृत सुजीत कुमार झा द्वारा हस्ताक्षरित पत्रमा स्वीकृत मापदण्ड अनुसार मात्र कार्य अघि बढाउन र कुनै अन्योल भएमा वन कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ। साथै, वातावरण निरीक्षकमार्फत जुनसुकै बेला अनुगमन तथा निरीक्षण हुन सक्ने चेतावनी पनि दिइएको छ।


सम्बन्धित समाचार