९ बैशाख, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले बुधबार एक पत्र जारी गर्दै यातायात व्यवसायीहरूलाई कानुन बमोजिमको सहुलियत अनिवार्य रूपमा उपलब्ध गराउन ताकेता गरेको हो ।
विभागका अनुसार वि.सं. २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमति अनुसार विद्यार्थीले परिचयपत्रका आधारमा कुल भाडामा ४५ प्रतिशत छुट पाउने व्यवस्था छ ।
तर, पछिल्लो समय सार्वजनिक सवारी साधनहरूले विद्यार्थीलाई सो बमोजिमको सहुलियत दिन आनाकानी गरेको भन्दै ‘हेलो सरकार’ र विभागको गुनासो पेटिकामा उजुरीको चाङ लागेपछि सरकारले पुनः यस्तो कदम चालेको हो ।
विभागका निर्देशक गणेशमान सिं राईद्वारा हस्ताक्षरित पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई सम्बोधन गर्दै विद्यार्थी सहुलियत सुविधालाई प्रभावकारी बनाउन आग्रह गरिएको छ ।
विभागले सरकारको यो निर्देशन उल्लंघन गर्ने वा छुट दिन इन्कार गर्ने सवारी साधनहरूलाई पहिचान गरी कडा कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिएको छ ।

















