९ बैशाख, काठमाडौँ । हिजो राति अबेरसम्म सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका गृहमन्त्री सुधन गुरुङ आज बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दुई नेताबीच केही समयदेखि गम्भीर संवाद भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री गुरुङका एक सहयोगीका अनुसार प्रधानमन्त्री र गृहमन्त्रीबीच करिब २० मिनेटदेखि एकल वार्ता भइरहेको छ । भेटको ठोस एजेन्डाबारे आधिकारिक जानकारी सार्वजनिक नगरिए पनि मुलुकको वर्तमान शान्ति सुरक्षाको अवस्था र सुशासनका सवालमा प्रधानमन्त्रीले गृहमन्त्रीसँग ब्रिफिङ लिएको बुझिएको छ ।
यसअघि मंगलबार मात्रै गृहमन्त्री गुरुङले गृहसचिव, प्रहरी महानिरीक्षक ९आईजीपी० र काठमाडौँका प्रमुख जिल्ला अधिकारीसहितका उच्च अधिकारीहरूसँग झन्डै ५ घण्टा लामो बैठक गरेका थिए ।
पछिल्लो समय बिचौलिया व्यवसायी दीपक भट्टसँगको व्यवसायिक साझेदारी र कम्पनीमा सेयर रहेको तथ्य बाहिरिएपछि गृहमन्त्री गुरुङ चौतर्फी आलोचनाको घेरामा छन् । यस्तो विवादित पृष्ठभूमिका बीच प्रधानमन्त्रीसँग भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

















