काठमाडौँ, ९ वैशाख । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र अनुशासनहीनता प्रदर्शन गर्ने र अनावश्यक बखेडा झिक्नेहरूलाई स्पष्टीकरण दिँदै बाहिरिन चुनौती दिएका छन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन ‘सच्चिन नसक्ने’ हरूलाई बाटो लाग्न सुझाव दिएका हुन् । संयोजक प्रचण्डले पछिल्लो समय पार्टीभित्र र बाहिर बढ्दै गएको निराशावादी सोचप्रति कडा आपत्ति प्रकट गरे ।
उनले निराशाको कुरा गर्ने व्यक्तिहरू आफ्नो अगाडि नआए हुन्थ्यो भन्ने लागेको भन्दै नेता कार्यकर्तालाई उत्साहका साथ अघि बढ्न आग्रह गरे । ‘कसैले पनि निराशा व्यक्त गर्नु हुँदैन,’ प्रचण्डले भने, ‘निराशा बाँड्ने मान्छे मेरो अगाडि नआए हुन्थ्यो जस्तो लाग्छ, हामीले जनतामा आशा जगाउने हो ।’ उनले कम्युनिस्ट आन्दोलनप्रति जनताको आकर्षण फेरि बढ्दै गएको दाबी गर्दै सोचेभन्दा छिटै पार्टीमा नयाँ उभार आउने विश्वास व्यक्त गरे ।
पार्टी एकता र पुनर्गठनको चर्चा गर्दै प्रचण्डले एउटा परिवारमा सबै पुस्ताको भूमिका महत्त्वपूर्ण भए झैँ पार्टीमा पनि सबैको अस्तित्व स्वीकारिने बताए । तर, पार्टीभित्रै बसेर अराजकता फैलाउने कार्य अब सह्य नहुने उनको संकेत थियो ।
उनले स्पष्ट शब्दमा भने, ‘मैले साथीहरूलाई भनिसकेको छु–सच्चिन चाहनेहरू हामीसँगै बस्ने हो, नसच्चिनेहरू गए हुन्छ । हामीले धेरै मेहेनत गरेर एकता गरेका हौँ, कसैलाई फुत्किन त दिँदैनौँ, तर यहाँ बसेर रडाको गर्नेहरू बरु आफ्नो बाटो लागे हुन्छ ।’
प्रचण्डले वर्तमान सरकारका काम कारबाहीले नै कम्युनिस्ट पार्टीको आवश्यकता र उभारको लक्षण देखाइसकेको जिकिर गरे ।

















